मेलम्ची । विनोद नेपाल स्मृति फाउण्डेसनले इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका ४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । आइतबार एक कार्यक्रमका बिच फाउण्डेसनका सल्लाहकार तथा गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशलाल तामाङको प्रमुख आतिथ्यतामा विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठलाई सो छात्रवृत्ति सहयोग हस्तान्तरण गरिएको हो ।
कक्षा ९ र १० मा सिभिल इन्जिनियरिङ विषय अध्ययनरत ४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेहरूमा निरूता आचार्य, राजु दनुवार, मानवी पुरी र दिनेश कार्की रहेका छन ।
फाउण्डेसनले ४ जनालाई स्टेसनरी वापत जनही ५००० समेत प्रदान गरेको छ । वर्षभरी निशुल्क पढ्न पुग्ने गरि कक्षा ९ का दुई विद्यार्थीलाई जनही १६ हजार पाँच सय र कक्षा १० का दुई विद्यार्थी लाई १७ हजार पाँच सयका दरले नगद प्रदान गरिएको हो ।
विनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय विनोद नेपालको सम्झनामा गत साल देखि छात्रवृत्ति कार्यक्रम सरू गरेको हो । गत साल २ जनालाई छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनका अध्यक्ष गंगादत्त नेपालले जानकारी दिनुभयो ।
समाज सेवी गंगादत्त नेपालको छोरा विनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उहाँको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वंशलाल तामाङले सो छात्रवृत्ति ४ जना विद्यार्थीको भविष्य सँग जोडिएको बताउनुभयो । “अमेरिकामा पढ्न गएको ३ महिनामा विनोद जिको निधन भयो । त्यही सम्झनामा यो फाउण्डेसन स्थापना गरिएको हो,” तामाङले भन्नुभयो । इन्जिनियर पढेर देशको भविष्य सुधार्ने योजनाका साथ अध्ययन गर्न गएका विनोदको सपना पूरा नभएको र त्यो सपना पूरा गर्नको लागि फाउण्डेसनले काम गरिरहेको उहाँले बताउनुभयो । विद्यार्थीको भविष्य उज्ज्वल बनाउनको लागि छात्रवृत्ति दिलाइएको उहाँको भनाई छ ।
फाउण्डेसनको उद्देश्यको बारेमा बताउँदै फाउण्डेसनका अध्यक्ष गंगादत्त नेपालले भन्नुभयो, “धेरै इन्जिनियर उत्पादन होइन भनेर हामीले यो कार्यक्रम ल्याएका हौँ ।” सो फाउण्डेसन सँग आफ्नो रगत जोडिएको उहाँले बताउनुभयो । कक्षा १२ पढेपछि एउटा जागिर प्राप्त गर्न सकुन् भनेर यो कार्यक्रम शुरु गरिएको उहाँको भनाई छ ।
समाजसेवी सागर कुमार श्रेष्ठले इन्जिनियरिङ पढाईको लागि छात्रवृत्ति दिइएकोले विद्यार्थीलाई विषय पूरा गरिदिन आग्रह गर्नुभयो । “यो बिषय पूरा गरिदिएमा विनोद नेपाल प्रति सच्चा श्रद्धाञ्जली हुनेछ,” श्रेष्ठले भन्नुभयो।
फाउण्डेसनको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले सो छात्रवृत्तिले विद्यार्थीको भविष्य उज्ज्वल बनाउनको लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीहरूलाई उहाँले भविष्य उज्ज्वल बनाउनतर्फ लाग्न आग्रह गर्नुभयो। विद्यालयमा भएको लगानी सदुपयोग हुनेमा श्रेष्ठले विश्वास दिलाउनुभयो ।
अन्तर्वार्ता र विभिन्न मुल्याङ्कन विधि बाट छनौँट भएका जेहेन्दार विद्यार्थीहरूलाई फाउण्डेसनले कक्षा ९ देखि १२ सम्म पढाईमा लाग्ने सम्पुर्ण खर्च ब्यहोन्ने संस्थाका सचिव रोहिणी राज नेपालले बताउनुभयो । फाउण्डेसनले ट्राफिक सचेतनाको कार्यक्रम समेत सन्चालन गर्ने उहाँले बताउनुभयो । फाउण्डेसनले रक्तदान कार्यक्रम लगायत सामाजिक कार्यहरू गर्दै आएको छ ।