रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय पहिलो हुँदै उपाधी जित्न सफल भएको छ ।
आज सम्पन्न प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधी जित्न सफल भएको हो । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक पनि जितेको थियो ।
प्रतियोगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर शितलादेवी माध्यमिक विद्यालय मेलम्ची – १० दोस्रो र बालसुधार मावि दुबाचौर ५ स्वर्ण ४ रजत र ४ कास्य पदक जितेर तेस्रो हुन सफल भएको मेलम्ची नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा अधिकृत सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो ।
प्रतियोगितामा नगरभित्रका दुई संस्थागत सहित २२ विद्यालयको सहभागिता थियो ।
समापनको दिन आयोजित भलिबल प्रतियोगितामा जनता माध्यमिक विद्यालय ज्यामिरेलाई हराउँदै बालसुधार माध्यमिक विद्यालय दुवाचौर पहिलो भयो । त्यस्तै मेलम्ची कम्युनिटी इङलिस स्कुल मेलम्ची लाई हराउँदै तेर्से माध्यमिक विद्यालय तालामाराङ तेस्रो भयो ।
कार्यक्रम समापनका अवसरमा नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतले विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै शिल्ड र मेडल प्रदान गर्नभएको थियो । प्रतियोगितामा भलिबल, कराँते र एथलेटिक्सका ३७ खेल भएका थिए ।