इन्द्रावतीमा बृहत् यौनिकता शिक्षा लक्षित समिक्षा कार्यक्रम सम्पन्न 

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रबिन दनुवार, नवलपुर । 
बृहत् यौनिकता शिक्षालाई लक्षित समीक्षा बैठक सम्पन्न भएको छ । विराट नेपाल मेडिकल ट्रस्ट संस्थाका निर्देशक रघु धितालको अध्यक्षता तथा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

इन्द्रावती गाउँपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले सरकारले गर्नु पर्ने यौनिकता शिक्षा सचेतना कार्यक्रम संस्थाले गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । कार्यक्रम सञ्चालन समय देखिनै आफू संस्था सँग जोडिएको अध्यक्ष नेपालले बताउनुभयो । आफू उपस्थित भएको केही कार्यक्रमबाट आफूले विद्यार्थीहरुलाई संस्थाले दिएको तालिमले यौन शिक्षा सम्बन्धी नाटक, बक्तृत्व कला जस्ता प्रतियोगितामा अब्बल देखिएको बताउनुभयो । सो कार्यक्रमलाई साझेदारीमा सञ्चालन गर्नपर्ने आवश्यकता रहेको  उहाले बताउनुभयो ।

विराट नेपाल मेडिकल ट्रस्ट संस्थाका निर्देशक  धितालले संस्था ५५ बर्ष अगाडि देखि हल सम्म सञ्चालनमा आइरहेको बताउनुभयो । संस्थाले कार्यक्रम नेपालको पुर्वि क्षेत्रबाट  सञ्चालन गरेको धितालले बताउनुभयो  । संस्था निर्धारित समय सम्म मात्रै बस्ने भएकोले आगामी दिनहरूमा स्थानीय सरकारको सहयोगमा कार्यक्रम संस्थागत रूपले निरन्तरता हुने विश्वास रहेको बताउनुभयो ।

संस्थाले १७ परियोजनाको काम गरेको जसमा कार्यरत सय जना प्रतिनिधि मध्ये एलिना अधिकारी उत्कृष्ट भएको धितालले बताउनुभयो । उहाले संस्थाको उद्देश्य यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारमा किशोरकिशोरीहरू र शिक्षकहरुको ज्ञान, मनोवृत्ति र अभ्यासमा सुधार गर्ने बताउनुभयो ।  

वडा ५ अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले संस्थाले सञ्चालन गरेको कार्यक्रमबाट स्वास्थ क्षेत्रमा देखिएको समस्या बारे विद्यार्थीहरुले खुलेर छलफल गर्न सक्ने भएको बताउनुभयो । कार्यक्रमले यौनिकता सम्बन्धी शिक्षक र बिद्यार्थीहरुमा परिवर्तन देखिएको उहाले जोडनुभयो । आफ्नै आमाको पनि आङ खस्ने समस्या लुकाएर राख्नुभएकोले ६४ वर्षको उमेरमै निधन भएको आचार्यले दुखेसो पोख्नुभयो । त्यसैले यौनिकताका समस्याहरूको खुलेर छलफल गरि आवश्यक समाधान गर्नु पर्नेमा आचार्यले जोडदिनुभयो । पालिका र संस्था  हातेमालो गरेर यौनिकता शिक्षा सचेतना कार्यक्रमलाई अघि बढ्नुपर्ने आवश्यकता रहेको प्रवक्ता आचार्यले  बताउनुभयो । 

वडा नम्बर ४ अध्यक्ष  क्षेत्र बहादुर तामाङले यौन शिक्षा सम्बन्धित अभिमुखी कार्यक्रमले विद्यालय सँगै  समुदायमा राम्रो शिक्षा दिएको बताउनुभयो । परम्परागत रुढीबादीले गर्दा यौन शिक्षाको बारेमा खुलेर बोल्न नसकिने अवस्थालाई संस्थाले दिएको यौनिकता सम्बन्धी शिक्षाले खुलेर आफ्नो समस्याको छलफल गर्न सक्ने भएको उहाले बताउनुभयो ।

सिपा तीन धारा जनता माविका शिक्षक बिनोद तामाङले  वृहत् यौन शिक्षाको सबै विद्यालयमा आवश्यकता रहेको बताउनुभयो । साथि शिक्षक समूह अन्तरगत प्रजनन स्वास्थ्य शिक्षा तालिम सञ्चालन पछि विद्यालयमा विद्यार्थीहरु प्रतिको समस्या पहिचान भइ समाधान  हुने विश्वास रहेको उहाले बताउनुभयो । 

भिमेश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले यौन शिक्षाको अन्यौलतालाई संस्थाले सहज गराउने काम गरेको बताउनुभयो । संस्थाले विद्यालय, समुदायमा यौनिकता शिक्षा पुर्याएको श्रेष्ठले बताउनुभयो । उक्त कार्यक्रमले यौन दुर्ववहार र बालबिवाह जस्ता समस्यहरुको न्युनिकरण हुने विश्वास रहेको बताउनुभयो ।

Leave a Reply