सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा राष्ट्रिय जागरण अभियान उद्घाटन

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेपाली कम्युनिस्ट पार्टी मेलम्ची नगर समितिको राष्ट्रिय जागरण अभियान उद्घाटन गरिएको छ । पार्टीका प्रमुख सचेतक, केन्द्रिय सदस्य एवम सांसद युवराज दुलाल, केन्द्रिय सदस्य पुर्व राज्यमन्त्री इन्द्रमाया गुरुङ, केन्द्रिय सदस्य चन्द्रबहादुर थापा, बिनोद खनाल , उमेश घोरासैनी, रामलाल बिक लगायतले अभियानको मेलम्चीमा उद्घाटन गर्नुभयो ।

नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आज राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्ने भएको छ। पार्टीको केन्द्रीय नीतिअनुसार सुरु गरिएको अभियानलाई जिल्लाभर विस्तार गर्दै संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना, स्थानीय समस्या पहिचान तथा समाधानका लागि पहल र आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडिने पार्टीले जनाएको छ।

यसअघि जिल्ला सदरमुकाम चौतारामा गत १९ कात्तिकमा आयोजित विशेष समारोहका बीच पार्टीका वरिष्ठ नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरेका थिए । जिल्लास्तरीय उद्घाटन समारोहमा पार्टीका केन्द्रीय नेतादेखि जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता, सदस्य, समर्थक र जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो। सोही अभियानलाई भोलिदेखि जिल्लाका सबै १२ वटै स्थानीय तहमा विस्तार गरी निरन्तर सञ्चालन गर्न लागिएको हो।

कार्यक्रममा प्रमुख अतिथि युवराज दुलाल्ले आज १२ वटै स्थानीय तहमा राष्ट्रिय जागरण अभियानको उद्घाटन रहेको बताउँदै यो अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो । आज ११ नम्बरको अभियान सुरु भएको बताउदै यो अभियान वडा वडामा पुग्ने बताउनुभयो ।

अभियानको केन्द्रिय उदेश्य पाटि सुदृढीकरण, सदस्यता नविकरण र अधिवेशन रहेको बताउदै उहाँले जनताले नयाँ नयाँ कुरा खोज्ने हुनाले समय अनुसार पाटी अगि बढ्नु पर्नेमा जोड दिनुभयो ।

संविधान कार्यान्वयन र अहिलेको सरकारले बिधि बिधान भन्दा मनपरी ढंगले अगि बढेको बताउनुभयो । उहाँले आगामी चुनावमा पाटीलाई जिताउने गरि अहिले देखि लाग्न उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टीकी सिन्धुपाल्चोक जिल्ला अभियान इन्चार्ज अमृता नेपालका अनुसार अभियानको मुख्य उद्देश्य संगठन विस्तार तथा सुदृढीकरण गर्नु, सदस्यता नवीकरण तथा नयाँ वितरण गर्नु, जनताका पार्टीप्रतिका गुनासा र सुझाव संकलन गर्नु तथा राजनीतिक र वैचारिक प्रशिक्षण सञ्चालन गर्नु रहेको छ। भोलिदेखि सुरु हुने पालिकास्तरीय अभियानमार्फत जनताका दैनिक समस्या तथा जनजीविकासँग सम्बन्धित सवाललाई स्थानीय सरकारसँग जोडेर समाधानका लागि ठोस पहल गरिनेछ। स्थानीय तहमा देखिएका विकास निर्माणका आवश्यकता, सेवा प्रवाहमा देखिएका कठिनाइ तथा नागरिकका गुनासालाई प्रत्यक्ष रूपमा संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउने कार्यक्रमसमेत अभियानमा समेटिने उनले बताइन्।

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अभियानको अर्को महत्त्वपूर्ण पक्ष रहेको छ। बजारमा देखिएको महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी तथा बढ्दो असुरक्षाजस्ता समस्याबारे जनस्तरमा आवाज उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने पार्टीले जनाएको छ। त्यसैगरी, समाजका सबै वर्गको अपनत्व सुनिश्चित गर्न महिला, युवा, विद्यार्थी, किसान, दलित, आदिवासी जनजाति, मधेसी तथा पछाडि परेका वर्गको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई अभियानले विशेष प्रोत्साहन गर्नेछ।

अभियानलाई संगठनात्मक गतिविधिमा मात्र सीमित नराखी प्रत्यक्ष जनसेवाका रचनात्मक कार्यसँग जोड्ने पार्टीको योजना रहेको छ। आगामी स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राख्दै अभियानमार्फत पार्टी संगठनलाई गाउँ गाउँ र टोल टोलसम्म विस्तार गर्ने, कार्यकर्तालाई परिचालन गर्ने तथा जनताको भावना बुझेर स्थानीय राजनीतिक परिस्थितिको अध्ययन गर्ने कार्यलाई प्राथमिकता दिइनेछ। नेपाली कम्युनिस्ट पार्टीले जिल्लाका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य, समर्थक तथा शुभेच्छुकलाई भोलिदेखि निरन्तर चल्ने राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाई रचनात्मक कार्यमार्फत सफल पार्न आह्वान गरेको छ।

Leave a Reply