इन्द्रावती गाउँपालिकाको स्पष्टीकरण : १ करोड ६३ लाख अनियमितताको दाबी निराधार, बेरुजु क्रमश: घट्दै

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, १८ कात्तिक

इन्द्रावती गाउँपालिकाले ‘पृथ्वीपोस्ट अनलाइन पत्रिका’मा प्रकाशित स्थानीय तहमा मौलाएको अनियमितता शिर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालद्वारा जारी विज्ञप्तिमा गाउँपालिकामा १,६३,५५,२६६ रुपैयाँको अनियमितता भएको भनी आएको समाचार पूर्ण रूपमा निराधार रहेकाे दावी गरिएको छ।

​महालेखापरीक्षकको प्रतिवेदन र बेरुजुको वास्तविकता

गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा अन्तिम परीक्षण हुँदा प्राप्त प्रतिवेदनमा उक्त अंक मेल नखाने पालीकाले स्पष्ट पारेको छ। विगतका बेरुजुहरूलाई क्रमशः कम गर्दै लगेको उल्लेख गर्दै गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहमध्ये कम बेरुजु (०.४६%) भएको पालिकाको रूपमा दर्ज हासिल गर्न सफल भएको जनाएको छ।

​साथै, LISA मा ७६० गाउँपालिका मध्ये दोस्रो स्थान, FRA मा दोस्रो स्थान तथा शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गाउँपालिका भित्रका सबै माध्यमिक विद्यालयको मूल्याङ्कन हुँदा सिन्धुपाल्चोकका १२ वटा पालिका मध्ये दोस्रो स्थान र प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा जिल्लामा प्रथम स्थान प्राप्त गर्न सफल भएको दाबी गरिएको छ।

​सञ्चार माध्यमप्रति आपत्ति र सत्यतथ्यको अपिल

गाउँपालिकाले कानुन र कार्यविधि परिपालना गरेर नै उक्त सफलता हासिल गरिएको बताउँदै महालेखापरीक्षकको कार्यालयबाट औंल्याइने बेरुजुहरू सैद्धान्तिक, नियमित गर्नुपर्ने, प्रमाण पेस गर्नुपर्ने र असुल उपर गर्नुपर्ने प्रकृतिका हुने उल्लेख गरेको छ।

​सञ्चार माध्यममा संलग्नकर्मीहरूले आफ्नो पेसागत व्यवसायिकता, तथ्यपरक, खोजमूलक र सत्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पूर्वाग्रही र स्वार्थ प्रेरित भएर कपोलकल्पित तथा भ्रमक समाचार सम्प्रेषण नगर्न गाउँपालिकाले आग्रह गरेको छ। साथै, गाउँपालिकाको विकास निर्माण र अन्य गतिविधिको कमजोरी सुधार गर्दै लैजान सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा सत्य, तथ्य र प्रमाणका आधारमा मात्र समाचार सम्प्रेषण गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ। 

Leave a Reply