नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले जनताका वास्तविक समस्या र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, सिन्धुपाल्चोकको आयोजनामा दीपावली, नेपाल संवत् एवं छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महामन्त्री पौडेलले औपचारिक कार्यक्रम र समितिका बैठकले मात्रै स्थानीय विकास सम्भव नहुने बताउनुभयो।
उहाँले जनताका समस्या र मुद्दालाई पार्टीका बैठक तथा छलफलमा उठाउनुपर्ने उल्लेख गर्दै नागरिकका चिन्ता, बहस र पैरवीमार्फत जनजीविकाका सवाललाई पार्टीसँग जोड्नुपर्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य, विकास तथा नागरिकका पीडा र समस्या समाधानमा कांग्रेसले चासो राख्ने छवि निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।
कांग्रेस सच्चिएर आएको अनुभूति जनतामा गराउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै उहाँले बदलिँदो परिस्थितिअनुसार पार्टीका मुद्दा र प्राथमिकता पनि परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।
नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै उहाँले अबको कार्यकालमा गर्ने कामका आधारमा मात्रै वास्तविक मूल्यांकन हुने बताउनुभयो। जित्नेले हार्नेहरूलाई समेत सँगै लिएर हिँड्नुपर्ने र आफूले पाएको जिम्मेवारी पूरा गर्ने गरी अघि बढ्न उहाँले सुझाव दिनुभयो।
कांग्रेसलाई नेपालको राजनीतिको विश्वविद्यालयको संज्ञा दिँदै महामन्त्री पौडेलले लोकतन्त्रको वास्तविक अभ्यास व्यवहारमै देखाउनुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव बहादुर सुनारले विगतमा केही कमि कमजोरीहरू भएपनि अबकाे दिनमा त्यस्ताे गल्ति दाेहा्रीन नहुने बताउनुभयाे । १५औं महाधिवेशनले नेतृत्व फेर्ने अवसर मात्र नभई गम्भीर आत्मसमिक्षा गर्ने ऐना पनि देखाएको बताउनुभयाे । चुनावमा हार–जीत आफ्ना ठाउँमा भएपनि जनताको मनमा वितृष्णा र गुनासो पैदा हुन दिन नहुने उहाँको भनाई थियाे ।
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रेमध्वज लामाले बदलिएको कांग्रेस यो केवल एउटा चुनावी नारा वा ट्यागलाइन मात्रै नभई कार्यशैली, सोच र आचरणमा ल्याउने आमूल परिवर्तनको प्रतिज्ञा भएकाे बताउनुभयाे । सत्ताको वरिपरि घुम्ने, गुट–उपगुटको दाउपेचमा अल्झिने हुँदा जनताका आधारभूत समस्या ओझेलमा परेकाे लामाले बताउनुभयाे । अबकाे कांग्रेस जनताको घरदैलोबाट चल्नुपर्ने उहाँको भनाई थियाे ।
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य वंशलाल तामाङले १५औं महाधिवेशनले पार्टीभित्रको कार्यशैलीलाई पूर्ण रूपमा बदल्ने सङ्कल्प गरेको बताउनुभयाे । अब पार्टीका हरेक निर्णयहरूमा कार्यकर्ताको आवाज सुन्दै, आम नागरिकको गुनासो सम्बोधन हुनुपर्नेमा जाेड दिनुभयाे । नागरिकको चुलोमा खुसी, युवालाई देशमै रोजगारी भएमात्र लाेकतन्त्रकाे प्रत्याभुत हुने तामाङले बताउनुभयाे । कांग्रेसले अब ‘डेमोक्रेसी र डेलिभरी’ (लोकतन्त्र र जनताको सेवा) बीचको बलियो पुल बनेर काम गर्नुपर्ने तामाङको भनाइ थियाे ।
त्यस्तै नेपालि काँग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले गगन थापाको नेतृत्वमा आएको नयाँ कार्यसमितिले देशमा सुशासन कायम गर्ने र पारदर्शी राजनीति गर्ने अठोट लिएको बताउनुभयाे। पार्टीभित्र होस् वा सरकारमा, भ्रष्टाचारप्रतिको शून्य सहनशीलता काँग्रेसकाे पहिलो सर्त हुनुपर्ने उहाँको भनाइ थियाे ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा पुर्व क्षेत्रीय सभापति आईतमान तामाङले जनतालाई कानुनी शासनको प्रत्याभूति दिलाउन र विधिको शासनलाई सर्वोपरी राख्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयाे। अबको कांग्रेसले कसैको अनुहार हेरेरभन्दा पनि देश र जनताको हितलाई मात्रै केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्नेमा उहाँको जाेड थियाे । अब सिंहदरबार धाउनेभन्दा पनि सिंहदरबारको अधिकार गाउँका बस्तीमा कसरी पुर्याउने भन्ने सोच्नुपर्ने बेला भएकाे उहाँले बताउनुभयाे ।
कार्यक्रमलाई समापन गर्दै क्षेत्रीय सभापति तथा बागमति प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर) ले १५औं महाधिवेशनबाट प्राप्त यो नयाँ ऊर्जालाई अब गाउँदेखि सहरसम्म फैलाउनुपर्ने बताउनुभयाे । ‘बदलिएको कांग्रेस’ ले मात्रै अब ‘बदलिएको नेपाल’ निर्माण गर्न सक्ने उहाँले बताउनुभयाे। सबै आ-आफ्नो ठाउँबाट प्रतिबद्ध भएर लागेमा कांग्रेस बदलिने र कांग्रेससँगै देश बदलिने उहाँकाे भनाइ थियाे ।


