मेलम्ची–१० मा अध्यक्ष कप भलिबलको सेमिफाइनल समीकरण पूरा, चार टोली उपाधि होडमा

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० स्थित शितलादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी तेस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगितामा नवज्योति युवा क्लब, भुमेस्थान माध्यमिक विद्यालय, बगुवा युवा क्लब र कार्की समाज युवा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

आज भएका खेलमा लगातार हार बेहोरेपछि काफ्ले खोला युवा क्लब, शितलादेवी माध्यमिक विद्यालय र फलामे युवा क्लब प्रतियोगिताबाट बाहिरिएका छन्। अब सेमिफाइनलका खेलसँगै प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा थप रोचक हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताअन्तर्गत भोलि बिहान ७ बजे भुमेस्थान माध्यमिक विद्यालय र बगुवा युवा क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ। त्यसपछि बिहान ८ बजे नवज्योति युवा क्लब र कार्की समाज युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल सञ्चालन हुनेछ।

आयोजकका अनुसार भोलि दिउँसो १२ बजेपछि ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिसहित फाइनल खेलसमेत आयोजना गरिनेछ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित असोज २९ गतेदेखि सुरु भएको प्रतियोगिता असोज ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको आर्थिक सहयोग मेलम्ची नगरपालिका–१० को वडा कार्यालयले गरेको छ भने व्यवस्थापन वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समितिले गरेको छ।

प्रतियोगितासँगै आयोजना हुने सांगीतिक कार्यक्रममा गायक सानु केसी तथा गायिकाहरू लक्ष्मी दर्नाल र सबिता दुलाललगायत कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रम संयोजक प्रह्लाद दङ्गाल रहेका छन्।

स्थानीयस्तरमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान र खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। आयोजकले सेमिफाइनल, फाइनल तथा सांस्कृतिक कार्यक्रममा उपस्थित भई खेलाडीलाई हौसला प्रदान गर्न सम्पूर्ण खेलप्रेमी तथा स्थानीयवासीलाई आग्रह गरेको छ।

Leave a Reply