सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ। असोज १३ गते सम्पन्न निर्वाचनमा समस्या उत्पन्न भएपछि स्थगित भएको मतदान प्रक्रिया असोज १७ गते पुनः सञ्चालन गरिएको थियो। पुनः सञ्चालित निर्वाचनबाट दुवै क्षेत्रमा सभापतिसहितका नयाँ पदाधिकारीहरू निर्वाचित हुनुभएको छ।
क्षेत्र नम्बर १: सभापतिमा सगुन श्रेष्ठ निर्वाचित
क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा सगुन श्रेष्ठ निर्वाचित हुनुभएको छ। आज बिहान सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ६ सय ७० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी आङदोर्जे शेर्पाले ३ सय ९९ मत र देवेन्द्र खड्काले १ सय ८१ मत प्राप्त गर्नुभयो। क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानको मतगणना कार्य भने अझै जारी रहेको छ।
क्षेत्र नम्बर २: सभापतिमा प्रदेश सांसद कृष्णकुमार तामाङ ‘समीर’ विजयी
त्यसैगरी, क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा बागमती प्रदेश सभा सदस्यसमेत रहनुभएका कृष्णकुमार तामाङ ‘समीर’ निर्वाचित हुनुभएको छ। तामाङले ५ सय ७९ मत प्राप्त गरी जित हासिल गर्नुभयो। उहाँका प्रतिस्पर्धीहरू पासाङ दोङ तामाङले ४ सय २८ मत, भूपेन्द्र थापाले १ सय ९ मत र करुण सागर सिग्देलले ६० मत प्राप्त गर्नुभयो।
क्षेत्र नम्बर २ को सचिवमा कुमार दुलाल तथा सहसचिवमा करिस्मा माझी र मनोजकुमार तामाङ निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरूमा गर्वे लामा, गोपिकृष्ण खतिवडा, थलबहादुर तामाङ, पासाङ तामाङ, बसन्त तामाङ र विदुरप्रसाद धिताल निर्वाचित हुनुभएको छ।
सिन्धुपाल्चोकका दुवै क्षेत्रमा निर्वाचित सभापतिद्वय सगुन श्रेष्ठ र कृष्णकुमार तामाङलाई नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापानिकट नेताका रूपमा हेरिन्छ। दुवै क्षेत्रमा सम्पन्न यो नेतृत्व चयनलाई कांग्रेसभित्र आगामी जिल्ला अधिवेशन तथा पार्टीको आन्तरिक शक्ति समीकरणका दृष्टिले निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
