इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आजबाट सुरू

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता भदौ २६ गतेदेखि नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको छ। इन्द्रावती गाउँपालिका वडा नं ४ को आयोजनामा प्रतियोगिता सुरु भएको हो। भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा टोलीले सहभागिता रहेको छ।


प्रतियोगितामा प्रथम हुने टोलीले ४० हजार रुपैयाँ, द्वितीय हुने टोलीले ३० हजार रुपैयाँ र तृतीय हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको आयोजना खेलाडीको क्षमता विकास, नयाँ प्रतिभाको पहिचान तथा गाउँपालिकामा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको आयोजकले जनाएको छ।


प्रतियोगिताको अवसरमा गाउँपालिका अध्यक्ष झमकनाथ नेपालले यस वर्षदेखि गाउँपालिकामा खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । उहाँले खेलकुदले स्थानीय स्तरमै खेलाडी उत्पादन गर्नुका साथै युवाको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे। उहाँले प्रतियोगिता अनुशासित, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गर्दै हार–जित खेलको स्वाभाविक पक्ष भएको उल्लेख गर्नुभयाे ।


गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशिनाथ आचार्यले स्कोरमा हार–जित भए पनि खेलाडीले दर्शकको मन जित्ने गरी खेल प्रदर्शन गर्नुपर्ने बताउनुभयाे ।

वडा नं. ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले आगामी दिनमा अन्य वडाले समेत खेलकुद प्रतियोगिता आयोजना गर्ने र ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गरिने जानकारी दिनुभयाे। उहाँले खेलकुद विकास कार्यक्रम अन्तर्गतको बजेटबाट आयोजना गरिएको प्रतियोगिताले युवाबीच भाइचारा, मित्रता र सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्ने बताउनुभयाे ।


कार्यक्रममा रास्वपा इन्द्रावती–४ का सभापति शेरबहादुर तामाङ तथा वडा अध्यक्षहरू भीमसेन थापा र रामचन्द्र घिमिरेले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए।

Leave a Reply