नवलपुर । हेलम्बु–३ स्थित ऐतिहासिक सातधारा मेलाको परिवेशमा आधारित नयाँ खान्दोके सेलो गीत ‘सगुन पोङ’ डिजिटल बजारमा सार्वजनिक भएको छ।
भदौ पूर्णिमाको अवसरमा लाग्ने सातधारा मेलामा बाँसखर्कका च्याङ्बा र हेलम्बुकी मैच्याङबीचको भेटघाट, प्रेमभाव तथा परम्परागत वैवाहिक संस्कारलाई गीतमार्फत प्रस्तुत गरिएको छ। मेलामा हुने घम्साघम्सीपूर्ण संवाद र त्यसै क्रममा ‘सगुन पोङ’ लिएर माग्न जाने तथा माइतीको अनुमति पाएपछि मात्रै सम्बन्धलाई विवाहतर्फ अघि बढाउने तामाङ समुदायको सांस्कृतिक परम्परालाई गीतको कथावस्तु बनाइएको छ।
यही सांस्कृतिक कथा र संवादलाई खान्दोके सेलोको माध्यमबाट बजारमा ल्याएका हुन् बाँसखर्कका किरण स्याङ्बोले। गीत आफ्नै किरण स्याङ्बो युट्युब च्यानलमार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो।
गीतमा जितु लोपचन र बैरागी च्याङ्बाको स्वर रहेको छ भने संगीत प्रेम योन्जन तामाङको रहेको छ। गीतका शब्द बैरागी च्याङ्बा र सरिता दोङले लेखेका हुन्।
त्यस्तै, गीतको प्रोड्युसर किरण स्याङ्बो र सरिता दोङ रहेका छन् भने एरेन्ज तथा मिक्सिङ सानो बाबु घिसिङले गरेका छन्।
तामाङ समुदायको मौलिक संस्कृति, प्रेम, परम्परा र वैवाहिक संस्कारलाई मनोरञ्जनसँगै सांस्कृतिक कथाका रूपमा प्रस्तुत गरिएको ‘सगुन पोङ’ले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
गीत किरण स्याङ्बो युट्युब च्यानलमार्फत डिजिटल बजारमा उपलब्ध रहेको छ । गीत सुनेर प्रतिक्रिया दिन तथा मौलिक तामाङ सांस्कृतिक सिर्जनालाई प्रोत्साहन गर्न युट्युब च्यानल Subscribe गरी साथ दिन निर्माण टोलीले सबैमा आग्रह गरेको छ।
