पहाडको बास्ना सहरको भान्छामा : स्थानिय युवा श्यामको सफल प्रयास

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको माथिल्लो भेग हेलम्बु भन्ने बित्तिकै धेरैको मानसपटलमा हिमाली चिसो हावापानी, मनमोहक प्राकृतिक दृश्य र माटोको आफ्नै शुद्ध स्वादको चित्र उभिन्छ। तिनै सुरम्य पाखापखेरामा पसिना बगाउने किसानका हात र काठमाडौँका भान्छाबीच एउटा लोभलाग्दो सेतु बनेर उभिएका छन् स्थानीय युवा श्याम लामिछाने। 

गाउँमा दिनरात दुख गरेर उब्जाएका अर्गानिक बालीले उचित बजार नपाएर खेतबारीमै कुहिनुपर्ने र अर्कोतिर सहरका उपभोक्ता रसायनयुक्त खानपानमा निर्भर हुनुपर्ने विडम्बनालाई श्यामले नजिकैबाट नियालेका थिए। यही विषमतालाई चिर्दै गाउँको शुद्धता र सहरको आवश्यकतालाई जोड्ने एउटा सुन्दर अभियानको थालनी भयो, जसले आज धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको छ।

​बिहानको झिसमिसेमै हेलम्बुका कुनाकाप्चा र दुर्गम बस्तीहरूमा किसानको घरदैलो पुग्ने श्यामको दिनचर्या हिजोआज निकै फेरिएको छ। 

त्यहाँका बोटमै सहजै पाकेका प्रसिद्ध मीठा स्याउ, हिमाली चिसो हावापानीमा हुर्केको स्वादिलो रातो आलु, कोदो र फापरको पिठो, अनि गाउँले हातैले परम्परागत शैलीमा तयार पारेको गुन्द्रुक र छुर्पी सङ्कलन गर्दा उनी केवल सामान मात्र उठाइरहेका हुँदैनन्, गाउँलेको वर्षौँदेखिको भरोसा र आशा पनि बटुलिरहेका हुन्छन्। 

कागुनो र जुनेलो जस्ता लोप हुन लागेका पौष्टिक अन्नदेखि लिएर हिमाली भिरमह र शुद्ध गाउँले घिउसम्मका रैथाने उपजहरू जब श्यामको गाडीमा लोड भएर काठमाडौँतिर जोडिन्छन्, तब हेलम्बुको एउटा सिङ्गो माटोको बास्ना र आत्मीयता सहरतर्फ यात्रा तय गर्छ।

​यो यात्रा केवल खरिदबिक्री र व्यापारको लेखाजोखामा मात्र सीमित छैन; यसले त उजाडिन लागेको गाउँको अर्थतन्त्रमा पुन: नयाँ प्राण भर्ने एउटा जीवन्त अभ्यासको रूप लिएको छ।

बिचौलियाको शोषण र झन्झटबिना आफ्नै आँगनमा फसलको सम्मानजनक नगद मूल्य पाउँदा स्थानीय किसानका अनुहारमा छाउने उज्यालो र खुसीले श्यामलाई अझै धेरै मेहनत गर्ने ऊर्जा दिन्छ।

वर्षौँदेखि बाझिएका बारीका पाटामा फेरि नयाँ उत्साहका साथ कुटो-कोदालो चल्न थालेको छ। उता काठमाडौँका उपभोक्ताका लागि पनि कङ्क्रिटको घन्चमन्च र हतारको सहरिया जिन्दगीमा माटोको सुगन्ध बोकेको शुद्ध, रसायनमुक्त र स्वास्थ्यप्रद खानेकुरा सोझै भान्छासम्म आइपुग्दाको खुसी कम्ती छैन।

​वैदेशिक रोजगारीको सहज बाटो रोज्दै पासपोर्ट बोकेर खाडी मुलुकतिर तम्सिने युवाहरूको बाक्लो लहर चलेका बेला, आफ्नै माटोको सुगन्ध र सम्भावनाभित्र सुनौलो भविष्य खोज्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका छन् श्याम। स्थानीय स्रोत र साधनको सहि सदुपयोग गर्दै सम्भावना फुलाउन सके आफ्नै जन्मभूमिमा स्वाभिमानपूर्वक जिउन सकिन्छ भन्ने सन्देश उनले आफ्नो कर्मबाट प्रवाह गरेका छन्। 

हेलम्बुको ऐतिहासिक अर्गानिक पहिचानलाई नयाँ उचाइमा जोगाउँदै र काठमाडौँवासीलाई सोझै हिमाली स्वाद चखाउँदै श्यामले सुरु गरेको यो अभियानले आज गाउँ र सहर दुवैलाई एउटै धागोमा गाँसेर समृद्धिको दिशामा अघि बढाइरहेको छ।

Leave a Reply