मेलम्ची । मेलम्ची नगरपालिकाले आयोजना गरेको दुईदिने कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। तालिमको समापन नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रलगायत जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको तालिममा नगरपालिकाका कर्मचारी, वडा सचिव, वडा प्राविधिक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो। तालिममा एआईको परिचय, कार्यालय प्रशासनमा यसको प्रयोग, सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपाय तथा डिजिटल प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगबारे प्रशिक्षण दिइएको थियो।
तालिमको सहजीकरण नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर अफिसर शशिशेखर आचार्यले गर्नुभएकाे थियाे। समापन कार्यक्रममा नगर प्रमुख तामाङले आधुनिक प्रविधिको प्रयोगले स्थानीय सरकारको सेवा प्रवाहलाई अझ छिटो, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयाे ।
