ईन्द्रावती गाउँपालिकाका सम्पूर्ण १२ वटै वडामा ‘सहभागितामूलक विधि प्रक्रियाद्वारा जलवायुजन्य तथा वातावरणीय जोखिम विश्लेषण कार्यशाला’ सफलतापूर्वक सम्पन्न भएको छ।
’सामाजिक रूपान्तरणका लागि जलवायु तथा वातावरणीय जोखिम समाधानका लागि प्रकृतिमा आधारित समाधान विधिहरूको पूर्वानुमानत्मक कार्य प्रवद्र्धन परियोजना’ अन्तर्गत उक्त कार्यशाला सञ्चालन गरिएको हो। जलवायु र वातारणीय जोखिमका कारण सामाजिक तनाव र द्वन्द्वको मात्रा बढेको परिप्रेक्ष्यमा खानेपानी संकट सङ्गै सामाजिक एकता र भाईचारा वृद्धि गर्न अनुसन्धानात्मक कार्यहरू गरिने छ ।
गाउँपालिकाका हरेक वडामा स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा आयोजना गरिएको यस कार्यशालामा जलवायु परिवर्तनका कारण परेको प्रभाव, बढ्दो वातावरणीय जोखिम र त्यसले स्थानीय जीवनशैलीमा पारेको असरबारे सहभागितामुलक विधि प्रक्रियाहरुको प्रयोग गरि विस्तृत छलफल तथा जोखिमहरुको पहिचान र लेखाजोखा गरिएको थियो।
जोखिम विश्लेषण सम्पन्न भएसँगै अब प्रत्येक वडा सहितको पालिका तहको ‘स्थानीय अनुकूलन कार्ययोजना’ (LAPA) तयार गरिनेछ। यस कार्ययोजनाले गाउँपालिकाभित्र विद्यमान जलवायु र वातावरणीय जोखिमहरूको दिगो समाधान खोज्न र अनुकूलनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न मार्गप्रशस्त गर्नेछ।
परियोजनाले मुख्य रूपमा स्थानीय अनुकूलन कार्ययोजनामार्फत इन्द्रावती गाउँपालिकामा लामो समयदेखि देखिँदै आएको खानेपानीको समस्या तथा वातावरणीय चुनौतीहरूलाई प्रकृतिमा आधारित विधिबाट (Nature-based Solutions) समाधान गर्ने लक्ष्य राखेको छ।
कार्यशाला समापन भएसँगै अब बन्ने स्थानीय अनुकूलन कार्ययोजनाले ईन्द्रावती गाउँपालिकालाई जलवायु उत्थानशील र वातावरणीय रूपमा सुरक्षित गाउँपालिका बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
