“रक्तदान जीवनदान, सुनकोशी–इन्द्रावती समाजको अभियान” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको जलबिरेमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका ५२ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरूमध्ये आनन्द माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बचुराम भ०डारीले १८ औँ पटक रक्तदान गर्नुभएको जानकारी दिनुभयो । त्यसैगरी आनन्द माविका ५७ वर्षीय प्रधानाध्यापक, १८ वर्षीय सुदीप मिजार र शशी थापाले समेत रक्तदान गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा जलबिरेका सभापति गणेशराज श्रेष्ठले आर्थिक अभाव वा रगतको कमीका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई यस्ता रक्तदान कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनुभयो । उपशाखाका कोषाध्यक्ष राम खड्काले यस्ता कार्यक्रम वर्षमा दुई पटक सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बलेफी गाउँपालिका–१ का वडा अध्यक्ष हुपबहादुर खड्का, इलाका प्रहरी कार्यालय जलबिरेका प्रमुख दुपेन्द्र बुढाथोकी, नेपाल रेडक्रस सोसाइटी उपशाखा जलबिरेका सभापति गणेशराज श्रेष्ठ, उपसभापती रेबिका पाठक ढुङ्गाना, सहसचिव दीपक श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
सुनकोशी–इन्द्रावती समाज, सिन्धुपाल्चोकको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा जलबिरे, बलेफी गाउँपालिका–१, इलाका प्रहरी कार्यालय जलबिरे, प्राथमिक स्वास्थ्य केन्द्र जलबिरे, आनन्द माध्यमिक विद्यालय, मेटामोर्फिक एकेडेमी, ब्रह्मायणी इङ्ग्लिस स्कुल, सिन्धु विकास बैंक, हिमालयन ह्याम्स एन्ड स्पोर्ट्स, राधे–राधे भीमसेन हार्डवेयर, ब्रह्मायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कुमारी बैंक लिमिटेडको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
मेटामोर्फिक एकेडेमीका प्रिन्सिपल बेदलाल दुलालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघसंस्था, आयोजक तथा रक्तदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहभागिताको अपेक्षा रहेको बताउनुभयो।





