सहरे बगरमा पुनः खेती हुने, पाँच वर्षपछि पलाउँदै आशा

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

​मेलम्ची । वि.सं. २०७८ सालको विनाशकारी बाढीले बगरमा परिणत गरिदिएको माझी गाउँस्थित सहरे बगर क्षेत्र फेरि ब्युँझिने चरणमा पुगेको छ। लामो समयको सङ्घर्ष र निरन्तरको प्रयासपछि सहरे बगरको खेत सरसफाइ गरी पुनः खेतीयोग्य बनाउने कार्य सुरु भएसँगै स्थानीय किसानहरूमा नयाँ उत्साह र आशा पलाएको हो।

​बाढीले पुरेको आरुवोट वेशी बगर क्षेत्रलाई पुरानै उर्वर अवस्थामा फर्काउनका लागि प्रकृति रिसोर्सेस सेन्टर काठमाडौं र आरुवोट वेशी बगर खेत सरसफाइ उपभोक्ता समितिबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। मिति २०८२ चैत १७ गते भएको उक्त सम्झौता अनुसार अब बगरको ढुङ्गा र बालुवा हटाएर जमिनलाई खेतीका लागि उपयुक्त बनाइनेछ। यस परियोजनाका लागि प्रकृति रिसोर्सेस सेन्टरले ५ लाख रुपैयाँ र उपभोक्ता समितिले ५० हजार रुपैयाँ गरी कुल ५ लाख ५० हजार रुपैयाँको लगानीमा सरसफाइ अभियान सञ्चालन गरिने भएको छ।

​यो अभियान केवल भौतिक सरसफाइ मात्र नभएर किसानहरूको गुमेको आत्मविश्वास र जीविकोपार्जनलाई पुनः स्थापित गर्ने एउटा महत्वपूर्ण पुनर्जागरण पनि हो। खेतबारी बगर भएपछि ठूलो समस्यामा परेका स्थानीय माझी समुदाय अब आफ्नै माटोमा फेरि हरियाली देख्ने प्रतिक्षामा छन्।

यस कार्यमा विशेष सहयोग पुर्‍याएकोमा प्रकृति रिसोर्सेस सेन्टर, मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण सरोकारवालाहरू र आरुवोट माझी समुदायलाई स्थानीयले आभार व्यक्त गरेका छन्। अबको केही समयमै सहरे बगरको उजाड ठाउँमा फेरि धान झुल्ने र हरियाली छाउने विश्वास लिइएको छ।

Leave a Reply