मेलम्ची । झुल्केघाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्चीको १३औं बार्षिक साधारण सभा मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले सहकारी भनेको केवल बचत र ऋणको कारोबार मात्र नभएर आपसी विश्वास, सहकार्य, पारदर्शिता र सामूहिक समृद्धिको माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीलाई मूल्यमान्यता, सिद्धान्त र नियमभित्र रहेर सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । सहकारीको दीर्घकालीन सफलता यसको सुशासन, जवाफदेहिता र पारदर्शितामै निर्भर हुने भन्दै संस्थाको अस्तित्व, विश्वसनीयता र व्यवस्थित सञ्चालनका लागि सबैजना एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उपप्रमुख प्रधानले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै उद्देश्य मिल्ने सहकारीहरूलाई मर्ज गरेर सञ्चालन गर्ने विषय पनि गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको बताउनुभयो । मर्जरबाट संस्थागत क्षमता बढ्ने, लागत घट्ने ,सेवा प्रभावकारी र सहकारी अझ बलियो हुने जिकिर गर्नुभयो । ऋणीहरुलाई जुन उद्देश्यका लागि ऋण लिनुभएको हो, सोही उद्देश्यअनुसार ऋण प्रयोग गर्न उहाँले सुझाउनुभयो । उत्पादनमूलक, आयआर्जन र रोजगारी सिर्जनामा केन्द्रित ऋणले मात्र व्यक्ति, परिवार र समाजलाई दीर्घकालीन फाइदा पुर्याउँने भन्दै ऋणको सही उपयोगले सहकारीलाई पनि बलियो र सदस्यको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने दावी गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले देशनै आर्थिक रुपमा तरलता तिर गैरहेको सन्दर्भमा मेलम्चीलाई केन्द्र बिन्दु बनाएर झुल्केघामले राम्रो काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीको मुल्यमान्यता,बिधि र नियममा रहेर संचालनमा रहेकाले झुल्केघाममा यस्तो समस्या देखा नपरेको उल्लेख गर्नुभयो । मेलम्चीमा अझैसम्म पनि दर्ता गरेर थन्किएको सहकारी धेरै रहेको भन्दै त्यस्ता सहकारी संस्थाका कारण राम्रा भनिएका सहकारी समेत बद्नाम हुन पुगेको बताउनुभयो । उहाँले उदेश्य मिल्ने सहकारी मर्चगर्ने नगरको योजना रहेको भन्दै त्यसै अनुसार योजना बनाएर अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा सभापति श्रेष्ठले सहकारीको निति र नियमको अधिनमा रहेर काम गर्दा शेयर सदस्यको संख्या उल्लेख्य भएपनि सक्रिय सदस्य भने त्यति नभएको बताउनुभयो । खाता खोल्ने तर त्यसलाई नियमित संचालन नगर्नाले धेरै समस्या भोग्न परेको बताउनुभयो । अध्यक्ष श्रेष्ठ साधारणसभा सफल बनाउन सहभागी सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष रुद्रप्रसाद दुलाल,मेलम्ची ९ का अध्यक्ष किरणदिप खड्का,इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ,नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर धिताल लगायतले कार्यक्रमको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको आर्थिक बार्षिक प्रतिवेदन सचिव महेश चालिसेले प्रस्तुत गर्नुभयो । ३ करोड २३ लाख ९० हजर बचत रहेको सहकारीको सेयर पुजीँ १ करोड ३९ लाख ६८ रहेको संस्थाका ब्यबस्थापक राम बिष्टले जानकारी दिनुभयो । कुल १ हजार ६२५ सदस्य रहेको सहकारीको ४ करोड २० लाख ८३ हजार ऋण लगानी रहेको बिष्टले बताउनुभयो ।
साधारण सभाको अवसरमा कार्तिक ५ गते आगलागि बाट क्षति पुगेको अधिकारी फेन्सि स्टोरका संचालक दानबहादुर अधिकारीलाई नगद ५ हजार रुपैयाँ सहयोग गरिएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट बचत कर्ता बाबुराम भुषाल,असल बचत कर्ता गिताकुमारी श्रेष्ठ, असल पुरुष ऋणी दिनेश थापा र असल महिला ऋणी रविताबरुण श्रेष्ठ लाई सम्मान गरिएको थियो ।
