इन्द्रावती गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थीको भूमिका विषयक माध्यमिक स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न कार्यक्रममा इन्द्रावती गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयमध्ये १० वटा विद्यालय सहभागी भएका थिए।
प्रतियोगितामा श्री सेतीदेवी माध्यमिक विद्यालयलाई प्रतिनिधित्व गर्ने रश्मी बिष्ट प्रथम हुनुभएको हो। त्यस्तै श्रीसिंहमती माध्यमिक विद्यालयका रोशीका बानिया द्वितीय हुनुभएको छ। त्यस्तै सिपा तीनधारा जनता माध्यमिक विद्यालयका शान्ति तामाङ तृतीय हुनुभएको छ भने सान्त्वना स्थान श्री कमलादेवी माध्यमिक विद्यालयको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको कल्पना गरेको बताउनुभएको थियो। त्यस्तै उहाँले सामाजिक मूल्य मान्यता र यसबाट सृजित हानिकारक परम्पराका कारण व्यावहारिक रुपमा कठिनाइ हुने गरेको उहाँले बताउनुभएको छ। साथै विद्यार्थीहरूमा यो स्तरको चेतना विकास हुनु एकदमै खुसीको कुरा भएको उहाँले बताउनुभएको थियो।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरी बराल र वडा नम्बर ४ का वडा अध्यक्ष तथा न्यायिक समितिका सदस्य क्षेत्रबहादुर तामाङले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । इन्द्रावती गाउँपालिकाको न्यायिक समितिद्वारा आयोजित सो कार्यक्रमले समुदाय स्तरमा चेतना फैलाउन थप सहयोग पुग्ने कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङको भनाइ थियो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभएको छ।








