मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

आँपचौर ।

शैक्षिक अभियन्ता मोहनबहादुर गिरीद्वारा इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा रहेको कमलादेवी माध्यमिक विद्यालय र सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय तथा वडा नम्बर ७ मा रहेको बालबालिका सुधार आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण गरिएको छ ।

इन्द्रावती गाउँपालिकामा ज्येष्ठताका आधारमा विव्यास अध्यक्ष दिपेन्द्र ठकुरीको अध्यक्षता र प्रमुख अतिथि शिक्षक कुञ्जरमणि भट्टराईको उपस्थितिमा न्यानो कपडा वितरण गरिएकाे हाे । कार्यक्रममा विशिष्ट अतिथि शैक्षिक अभियान्ता तथा समाजसेवी मोहन बहादुर गिरी र विशेष अतिथि श्याम बहादुर गिरीको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि कुञ्जरमणि भट्टराईले संघीयताको प्रारम्भदेखि नै शिक्षा क्षेत्रलाई नीति तथा कार्यक्रममार्फत प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो। उहाँले १९ वर्षको शिक्षण सेवामा रहँदा आफूले आफ्ना मात्र नभई पालिकाका अन्य विद्यालयहरूलाई समेत सहयोग र सघनतापूर्वक अघि बढाएको बताउनुभयो। साथै, क्याम्पस स्थापना लगायतका कार्यमा विशेष भूमिका निर्वाह गरेको स्मरण गर्दै मोहन गिरीले आफ्नो जीवनमा भोगेका कठिनाइ विद्यार्थीहरूले नभोगुन् भन्ने सोचले अघि बढाएको अभियान अत्यन्तै सराहनीय रहेको बताउनुभयो ।

विद्यार्थीहरूलाई न्यानो कपडा वितरणसँगै तातो–चिसो पानी खान सहज होस् भनेर डिस्पेन्सर समेत प्रदान गरिएको थियो। भट्टराईले यस्ता निस्वार्थ र पुण्यकारी कार्यहरूले शिक्षा क्षेत्रमा प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उपलब्ध सामग्रीहरूको संरक्षण र सदुपयोग गर्न विद्यालय र विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै बिशेष अतिथि श्याम बहादुर गिरीले २०७९ सालदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत हालसम्म ३५ वटा विद्यालयमा शैक्षिक तथा सहयोगी सामग्री वितरण भइसकेको जानकारी दिनुभयो । अब चण्डेश्वरी, राजेश्वरी र भिमेश्वरी माध्यमिक विद्यालय मात्रै बाँकी रहेको बताउँदै उहाँले यो अभियानको उद्देश्य भावी पुस्ताको उज्वल भविष्य निर्माण गर्नु रहेको बताउनुभयो । उहाँका अनुसार मोहन गिरीले आफ्नो आम्दानीको ठूलो भाग समाजसेवामा खर्च गर्दै प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूलाई पनि निरन्तर सहयोग गर्दै आउनुभएको छ। उहाँले पालिकामा कक्षा १२ सम्म निशुल्क शिक्षा सुनिश्चित गर्न माग गर्दै त्यसतर्फ पालिका नेतृत्व सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गुरूकुलमा अध्ययनरत श्री सिपा तिनघरे संस्कृत माध्यमिक विद्यालयका बटुकहरूका लागि खाद्यान्न तथा पोषक सहयोग समेत गरिएको थियो । कार्यक्रममा विव्यास अध्यक्ष गणेश प्रसाद चालिसे, इन्द्रावती–११ निवासी कृष्ण प्रसाद न्यौपाने र मेनका न्यौपानेका पुत्र भोला न्यौपानेलगायतको पनि उल्लेखनीय सहयोग रहेको थियो ।

Leave a Reply