सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर २ र ३ का विपन्न ४१ परिवारलाई दशैं मान्ने सामग्री वितरण गरिएको छ । समाजसेवी तथा शैक्षिक अभियान्ता मोहनबहादुर गिरीको सहयोगमा सो सामग्री वितरण गरिएको हो।
दशैं सामग्री वितरणको अवसरमा बोल्दै इन्द्रावती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले वडामा रहेका विपन्न परिवारहरूको लागि दशैं उल्लासमय रहोस् भन्ने हेतुले सो सामग्री वितरण गरिएको जानकारी गराउनु भयो । वडाभित्र रहेका विपन्न नागरिकहरूलाई मध्यनजर गर्दै चामल १५ केजी ,चिउरा पाँच केजी, तेल १ लिटर, जम्बाे काेक, मसला, एक केजी दाल र एक धार्नी मासु प्रति परिवारलाई वितरण गरिएको उहाँले जानकारी दिनुभयो । आफू जनप्रतिनिधि भएकाले वडाका सबै नागरिकले दशैं मान्ने वातावरण सृजना गर्नु वडा अध्यक्षको दायित्व हुने पनि उहाँले बताउनुभयो। यसअघि पनि शैक्षिक अभियान्ता तथा समाजसेवी मोहनबहादुर गिरीले शिक्षा क्षेत्रमा लगायत अप्ठ्यारोमा परेका नागरिकहरूलाई हरेक समयमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो ।
यस्तै उक्त दशैं सामग्री वितरण कार्यक्रममा बोल्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भीमसेन थापाले मोहनबहादुर गिरी जस्तो व्यक्तिले गर्दा समुदायका विपन्न नागरिकहरुले पनि दशैं खुसियाली साथ मनाउने वातावरण सिर्जना भएको बताउनुभयो । साथै वडामा रहेका विपन्न नागरिकहरूको दशैं यस वर्ष उल्लासमय हुने उहाँले बताउनुभयो। ।
इन्द्रावती गाउँपालिका वडा नम्बर २ का २५ परिवार र वडा नम्बर ३ का १६ परिवार गरी कुल ४१ परिवारलाई सो सामग्री वितरण गरिएको हो। सो सामग्री वितरण कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष श्यामबहादुर गिरी वडा नम्बर ३ का वडा अध्यक्ष भीमसेन थापा नेपाली कांग्रेस वडा नम्बर २ का सभापति बलराम गिरी लगायत सामाजिक व्यक्ति व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।





