सिन्धुपाल्चोक । नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा जिल्लाको सदरमुकाम चौतारास्थित बौद्धिक अपांगता भएका बालबालिकाका लागि सञ्चालन हुँदै आएको आवास गृहमा लत्ताकपडा, खाद्यान्न र फलफूल वितरण गरेको छ।
संगठनले आवास गृहका बालबालिकालाई १० सेट टिसर्ट र ट्राउजर, २ बोरा चामल, केही दाल, तेल तथा फलफूल प्रदान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज मेघराज भट्टराईले संगठनले निजामती कर्मचारीको हकहितका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको र यस्ता सिर्जनात्मक कार्यक्रमले नागरिकको विश्वास जित्न सहयोग पुग्ने बताउनुभयो। उहाँले बौद्धिक अपांगता भएका बालबालिकाप्रति प्रायः धेरैको ध्यान नपुग्ने भएकाले बेलाबखत यस्ता कार्यक्रम गर्नाले सम्बन्धित निकायको ध्यानाकर्षण हुने धारणा राख्नुभयो। साथै, कर्मचारीले निष्पक्ष भएर सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने दायित्वको समेत स्मरण गराउनुभयो।
विशेष अतिथि नेकपा एमाले सिन्धुपाल्चोकका सल्लाहकार एवं पूर्वमाननीय कृष्णराज श्रेष्ठले कार्यक्रमप्रति खुशी व्यक्त गर्दै यस्ता क्रियाकलापले संगठनको छवि अझ मजबुत हुने उल्लेख गर्नुभयो। उहाँले संगठनका राम्रा र सिर्जनात्मक गतिविधिमा नेकपा एमाले सधैं सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाउनुभयो।
आवास गृह सञ्चालक एवं अभिभावक संघकी सचिव रजनी श्रेष्ठले सहयोगका लागि संगठनलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्नुभयो।
कार्यक्रमको अध्यक्षता नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकका अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलले गर्नुभएको थियो। उहाँले संगठनले धेरै ठूलो काम गर्न नसके पनि छायाँमा परेका समस्यालाई उजागर गर्दै सरोकारवालालाई सचेत गराउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
यस अवसरमा हालै सरुवा भई सिन्धुपाल्चोक जिल्लामा आउनुभएका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई संगठनले स्वागत समेत गरेको थियो।
कार्यक्रममा संगठन जिल्ला इन्चार्ज मेघराज भट्टराई, संगठन बागमती प्रदेश कमिटी सदस्य तिलक बहादुर राई, जिल्ला अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेल, आधिकारिक ट्रेड युनियनका पूर्वअध्यक्ष शम्भुप्रसाद पोखरेल, संगठन उपाध्यक्ष पुनम भण्डारी, केन्द्रिय अधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठ, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था सिन्धुपाल्चोकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, संगठित सदस्यहरू प्रकाश थापा, निरज परियार, हरि बहादुर यमसी, राजबहादुर श्रेष्ठ, रविराज धिताल, स्वरुपसिँ तामाङ, आशिष शर्मा लगायतको सहभागिता रहेको थियो।