पाँचपोखरी कप प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगितामा इन्द्रावती गाउँपालिका बिजयी भएको छ । प्रतियोगिता दोस्रो दिन भएको पहिलो खेलमा लिसंखु पाखर गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै इन्द्रावतीले बिजयी सुरुवात गरेको हो ।
त्यस्तै आजको अर्को खेलमा बलेफी गाउँपालिकाले पनि जितको खाता खोलेको छ । हिजो चौतारा सँगाचोकगढी नगरपालिका सँग १–० गोलले हारेको बलेफीले आज मेलम्चीलाई एकका बिरुद्ध ३ गोलले पराजित गरेको हो ।
आजको तेस्रो तथा अन्तिम खेलमा हेलम्बु र भोटेकोशी गाउँपालिकाले १–१ को बराबरी खेलेको छ । हिजो यी दुबै टोलीले आफ्नो पहिलो खेलमा हार ब्यहोरेको थियो । हेलम्बु पाँचपोखरी थाङ्पाल र भोटेकोशी सुनकोशी गाउँपालिकासँग पराजित भएको थियो ।
आजका खेलहरुमा क्रमशः इन्द्रावतीका सुनिल तामाङ, बलेफीका छिरिङ तामाङ र भोटेकोशीका नरेश लामा म्यान अफ द म्यात घोषित हुनुभएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा वडा नम्बर ४ मा रहेको पेमाथाङ्ग समानता खेलकुद मैदानमा जारी प्रतियोगितामा जिल्लाभरिका १० टोली सहभागी छन् ।
प्रतियोगिता २० गतेसम्म सञ्चालन हुने पनि अध्यक्ष साम्देनले जानकारी दिनुभयो प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेता हुने टोलीले ५० हजार नगदसहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।