मेलम्चीमा विपद् जोखिम न्यूनीकरण सम्बधी तीन दिने तालिम सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
विपद् जोखिम न्यूनीकरण सम्बन्धि ३ दिने तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिकाको समन्वय तथा करुणा ट्रष्टको सहयोग तथा रिड नेपालको आयोजनामा भएको तालिम प्रकोप प्रभावितहरुलाई स्थानिय स्तरमानै तुरुन्त प्रभावकारी सेवा प्रदान गर्न रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुलाई खोज तथा उद्धार सम्न्धी ज्ञान तथा सिप प्रदान गर्ने, समुदायमा स्तरमा संचालन हुने आधारभूत खोज तथा उद्धार तालिमको लागि प्रशिक्षक तयार गर्ने उद्धेश्य सहित आयोजना गरिएको रिड नेपालका परियोजना अधिकृत शोभा सुवेदीले जानकारी दिनुभयो ।

पहिलो दिन खोज र उद्दार दोश्रो र तेस्रो दिन प्राथमिक उपचार र चिकित्सकिय सहयोग सम्बन्धी तालिम हुने प्रशिक्षक जिल्ला रेडक्रस सिन्धुपाल्चोकका कार्यालय प्रमुख भरत कोइरालाले जानकारी दिनुभयो ।

जति छिटो उद्दार गर्न सक्यो उति मानवीय क्षति कम हुने, सुरक्षाकर्मीले मात्र नसक्दा विपद्मा समुदायका ब्यक्तिले पनि तालिम लिदाँ खोज उद्दारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले तालिमपछि सिकेका सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले आफ्ना कामलाई थाती राखेर भएपनि ३ दिन सम्म तालिममा सक्रिय सहभागीता जनाउन आग्रह गर्नुभयो । विपदमा परेका ब्यक्तिहरुलाई खोज तथा उद्दार र प्राथमिक उपचार कसरी गर्ने भन्ने बिषयमा तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो । उपप्रमुख प्रधानले युवालाई तालिम मात्र दिएर नपुग्ने भन्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले विशेषत युवाहरुले यस्ता तालिममा सहभागिता जनाउन पर्ने भन्दै भोलि आइपर्ने विपदको प्रतिकार्यमा युवाले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताउनुभयो ।

कार्यक्रममा मेलम्ची ११ का वडा सदस्य प्रतिमा धितालले यो महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी लागेको बताउनुभयो । विगतमा पनि धेरै विपद भोग्दै आएको स्मरण गर्दै सधैंभरि चनाखो हुनुपर्ने बताउनुभयो ।

रिड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीको अध्यक्षता भएको कार्यक्रम संस्थाका सुशिला कँडेलले सञ्चालन गर्नुभएको थियो । तालिमको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका कार्यालय प्रमुख भरत कोइराला, बतास फाउण्डेशनका उद्धव अवस्थी, रेडक्रस भक्तपुर शाखा सदस्य संगिता थापा लगायतले सहजिकरण गर्नुहुनेछ । तालिममा नगरपालिका भित्रका वडा नम्बर ४, ६, १०, ११, १२ र १३ का ८० जना स्थानियहरुको सहभागिता रहेको छ ।

Leave a Reply