रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नं ७ ले घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । वुधवार सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको घरघरमै पुगेर भत्ता बितरण गरिएको वडा अध्यक्ष रविन्द्र कुमार खातीले जानकारी दिनुभयो ।
“जो लाभग्राही छन उसैको हातमा रकम पुगोस भनेर यो अभियान गरेका हौँ”, वडा अध्यक्ष खातीले भन्नुभयो । क वर्गका अपाङ्गता भएका ब्यतिmहरुलाई केन्द्रित गरेर करिव ३ दर्जन ब्यक्तिहरुको हात हातमै भत्ता बितरण गरिएको उहाँको भनाई छ । घरघरमै पुगेर भत्ता बितरण गर्न पाउँदा भेटघाटको अवसर समेत जुरेको खातीले बताउनुभयो ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ७ अन्तर्गतका अति जेष्ठ नागरिक र क वर्गका अपांगता भएकाहरूले हातहातमै सामाजिक सुरक्षा भत्ता पाएका छन । आफै बैंकमा गएर भत्ता लिन नसक्ने लाभग्रहीको घरमै पुगेर हातैमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
बैंक सम्म पुग्न कठिन हुने ब्यक्तिहरुले घर घरमै सामाजिक सुरक्षा भत्ता लिन पाउँदा खुसी ब्यक्त गरेका छन । “बैंक सम्म पुग्न नसक्ने अवस्था थियो, अहिले हात हातमै घरमै भत्ता पाएँ”, इन्द्रावती ७ कि पम्फा मगरले भन्नुभयो ।
सिन्धु विकास बैंक सिपाघाट शाखाको सहजीकरणमा भत्ता बितरण गरिएको हो । भत्ता बितरण कार्यक्रममा जनप्रतिनिधि, प्रहरी चौकी भीमटार देउरालीका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।