मेलम्ची नगरपालिकाको १८ औं नगरसभा सम्पन्न, एक अर्ब ५३ करोडको बजेट पारित

विविध


मेलम्ची नगरपालिकाको १८औं नगरसभा अधिवेशन मंगलबार नगरप्रमुख आइतमान तामाङको सभाध्यक्षतामा सम्पन्न भएको छ । नगरसभामा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र विभिन्न समितिका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएका छन् । नगरप्रमुख तामाङले सभामा प्रस्तुत गर्नुभएको आगामी वर्षको नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले पेश गर्नुभएको आर्थिक विधेयक २०८२/८३, विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन तथा लेखा समितिका संयोजक कृष्णमुरारी चौलागाईंले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदनलाई सभाले सर्वसम्मतिले स्वीकृति दिएको हो।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल एक अर्ब ५३ करोड ९ लाख २३ हजार ५६२ रुपैयाँको बजेट विनियोजन गरेको छ ।


नीति तथा कार्यक्रममा प्राथमिकता दिइएका क्षेत्रहरू
पूर्वाधार विकासः सडक निर्माण, ढल निकास प्रणाली, खानेपानी परियोजना र सार्वजनिक भवनहरू निर्माणमा उच्च प्राथमिकता ।
शिक्षा क्षेत्रः विद्यालय भवन मर्मत, डिजिटल शिक्षा प्रवद्र्धन र छात्रवृत्रि कार्यक्रम विस्तार ।
स्वास्थ्य सेवाः स्वास्थ्य संस्थाहरूको सुधार, मातृशिशु स्वास्थ्य कार्यक्रम र स्वास्थ्य जनशक्ति विस्तार ।
कृषि तथा पशुपालनः आधुनिक कृषि उपकरण वितरण, व्यवसायिक खेती प्रवद्र्धन तथा पशुपालनमा प्रोत्साहन कार्यक्रम ।

पर्यटन प्रवद्र्धनः मेलम्ची क्षेत्रका पर्यटकीय सम्भावनाहरूको पहिचान, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास ।
रोजगार तथा उद्यमशीलताः युवा लक्षित स्वरोजगार कार्यक्रम, सिपमूलक तालिम तथा सहकारी संस्थामार्फत लगानी प्रवाह ।
डिजिटल मेलम्चीः सेवा प्रवाहमा प्रविधिको प्रयोग, नगरपालिकाका सेवा प्रणाली डिजिटलाइजेसन ।
नगरसभामा सभासद्हरूले पारित नीतिहरूले मेलम्चीको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । नगरप्रमुख तामाङले पारदर्शिता, सहभागिता र जवाफदेहिताको आधारमा स्थानीय सरकार सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply