मेलम्ची नगरपालिका–५ सिन्धुकोट गाउँका मेहनती कृषकको रुपमा चिनिएका कृष्णजंग रायमाझीले व्यवसायिक रुपमा फलफूल खेती गरेको नौ वर्ष पुग्यो । करिब ३१ वर्ष शिक्षण पेसामा होमिएपछि अवकाश पाएका रायमाझी अहिले ६० वर्ष लाग्नुभयो । तर, रायमाझीको जाँगर र उत्साह कुनै युवाभन्दा कम छैन।
फलफुल खेतीबाट वार्षिर्क १० लाख कमाइरहेका उहाँले १० रोपनी खेतमा सुन्तला, जुनार दुई सय र एक हजार बोट कागती लगाउनुभएको छ । ‘शिक्षक सेवाबाट बिदा लिएपछि खाली हात के बस्नु भनेर कृषि पेसामा होमिएँ, अब यसमा रस र मन बस्न थालेको छ । यसबाट कम दुःखमा राम्रो आम्दानी हुने भएपछि यसमानै जोड दिन थालेको छु,’ रायमाझीले भन्नुभयो ।
अहिलेसम्म सहकारीबाट ऋण र आफ्नो गरी ९० लाख लगानी गरिसकेका रायमाझीले आगामी दुई वर्षमा फलफूल खेतीबाट आफ्नो लगानी र मेहनतको फल उठाइसक्ने योजना बनाउनुभएको छ । यसपटक बगैँचामा उत्पादित १० टन सुन्तला, जुनार र कागती बोलेरोबाट राजधानीका विभिन्न स्थानमा बिक्रीका लागि पुर्याइसकेको उहाँले जानकारी दिनुभयो ।
यसपटक ८ लाख बराबरको सुन्तला, जुनार र कागती बेचिसकेको उहाँले बताउनुभयो । ‘फलफूललाई आम्दानी दिन कम्तिमा चार या पाँच वर्ष लाग्छ । फलस्वरुप हाम्रो चार वर्षर्बाट फल दिन थालेको भए पनि राम्रोसँग आम्दानी दिन पाँच वर्ष लाग्यो,’ रायमाझीले भन्नुभयो । पहिलो दुई वर्षमै कागती ५ हजार किलो फलेको रमाइलो क्षण उहाँ अहिले पनि सम्झिनुहुन्छ। कागतीको माग ज्यादै भएकाले भनेजति पुर्याउन नसकेको कृषक रायमाझीले जानकारी दिनुभयो ।