हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा हेलम्बु गाउँपालिकाले लगानी बढाएकाे बताउनुभएकाे छ । शिक्षा र स्वास्थ्य नि:शुल्क भएमा नागरिकलाई सहज हुने भएकाले हेलम्बुले यसमा लगानी बढाइरहेको शेर्पाले जानकारी दिनुभयाे ।
विद्यालयमा कुलपति कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष शेर्पाले काठमाडौ लगायत अन्यत्र लगेर आफ्ना बालबालिका पढाउन कठिनाइ हुने भएकाले हेलम्बुमा नि:शुल्क शिक्षा र कम आय भएकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन औषधी लगायत उपचारमा सहयोग गरिरहेको बताउनुभएकाे छ ।
शेर्पाले कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति लगायत टोलि हेलम्बु आउनु खुशिको कुरा भएको बताउनुभयाे । ठुला ठुला कबिहरु हेलम्बु आएको स्मरण गर्दै शेर्पाले हेलम्बु साहित्यकारहरुका लागि राम्रो ठाउँ भएको सुनाउनुभयाे । अध्यक्ष शेर्पाले पढाइ संगै संस्कृति, रितिरिवाज र अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी गराउनु पर्नेमा जोड दिनुभयाे ।
आन्तरिक स्रोतबाट नि:शुल्क १२ सम्म अध्ययन, नि:शुल्क दिवा खाजा, नि:शुल्क बिज्ञान, होटल मेनेज्मेन्ट लगायत पढाइरहेको बताउदै शेर्पाले अन्य बिषय पनि थप्दै जाने बताउनुभयाे। स्नातक तह सम्म नि:शुल्क अध्यापन गराउन आफु लागिएको शेर्पाले जानकारी दिनुभयाे ।