रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाको अध्यक्ष कप फुटबल सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद शाखाको आयोजनामा ज्यामिरेमाने स्थित शहीद स्मृति खेल मैदानमा खेल सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिकाका १२ वटै वडाबाट १२ टिम सहभागि रहेका थिए । २१ गतेबाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
सबै वडाबाट उत्साहपूर्ण रूपमा खेलाडी तथा दर्शकको सहभागितामा खेल सम्पन्न भएकोहो । जारी प्रतियोगिता को सेमिफाइनल समिकरण पुरा हुंदासम्म वडा नम्बर १२ ले वडा नम्बर ४ लाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै वडा नम्बर ९ र वडा नम्बर १० बिच भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर ९ ले खेल आफ्नो पक्षमा पारेको थियो ।
फाईनल चरणको लागि वडा नम्बर ९ र १० विचको खेलमा सामान्य विवाद देखिएपछि फाईनल चरणको खेल रोकिएको थियो । आयोजकले दोस्रो स्थानको खेल रोकेको छ । आयोजकले निर्णय गरि वडा नम्बर १२ लाई प्रथम घोषणा गरेको छ । त्यस्तै वडा नम्बर ४ लाई तृतीय घोषणा गरीएको छ ।
वडा नम्बर १२ ले उपाधि सँगै एक लाख नगद र ४ ले ४० हजार रुपैया पाएको छ ।
खेलमा उत्पन्न विवादलाई जिल्ला खेलकुद बिकास समिति र अखिल नेपाल फुटबल संघमा पठाएर आधिकारिक निर्णय आएपछि मात्र यो विवादबारे निर्णय गरिने गाउँपालिकाले जनाएको छ ।