ज्यामिरे साना किसान सहकारीको साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, ज्यामिरे ।
ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को चौथो बार्षिक साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको संस्था साधारण सभा तथा भवनको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीको शेयर पूँजी बढाउन अनुरोध गर्नुभयो । आपूर्ति गर्न आफूले भरपूर पहल कदमी गर्दै आएको बताउदै मेयर तामाङले बाँदर नियन्त्रण गर्न नगरले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रमका बिशेष अतिथि वडा अध्यक्ष किरणदीप खड्काले वडाभित्र धेरै सहकारी दर्ता भएर नियमित संचालन हुन नसक्नुका विविध कारण र आफ्ना अनुभवहरु राख्नुभयो । उहाँले संस्थामा वित्तीय अनुशासनमा अत्यन्तै महत्वपूर्ण पाटो रहेकोले यसमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

अर्का विशेष अतिथि सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौलागाइले कृषि क्षेत्र बिचौलियाको शोषणबाट माथि उठ्न नसकेको बताउनु भयो । सहकारी मार्फत समतामूलक समाज निर्माणमा बल पुग्ने उहाँको तर्क रहेको छ । उहाँले संगठित भइ उत्पादित बस्तुको गुणात्मक र गुणस्तर दुबै पुरा गर्न सहकारीको आवश्यकता र खाँचो रहेको प्रष्ट्याउनु भयो ।

भवन निर्माणका लागि अघिल्लो आर्थिक बर्ष मेलम्ची नगरपालिकाबाट १८ लाख २२ हजार ८ सय ९० रूपैयाँ र यस आर्थिक बर्ष ४ लाख २७ हजार २ सय ९३ रुपियाँ प्राप्त गरेको संस्थाका अध्यक्ष केशव बिष्टले जानकारी दिनुभयो ।

संस्थामा ७ सय ३८ शेयर सदस्य रहेका र १०३ समूहमा आवद्ध रहेको जानकारी गर्दै यो सहकारीमा १ करोड ५१ लाख ३८ हजार ७ सयको कारोबार भइ रहेको सचिव भेषबहादुर कार्कीले बताउनुभयो । यो संस्था साना किसान सहकारी अनुसरण कार्यक्रम अन्तर्गत २०७६ मा स्थापना भएको हो। राज्यको पुर्नसंरचनापछि मेलम्ची नगरपालिकामा पहिलो सहकारी संस्थाको रूपमा दर्ता भएको छ ।

Leave a Reply