नवलपुर । इन्द्रावती साना किसान कृषि सहकारी संस्थाको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। सहकारीका अध्यक्ष रामशरण गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गर्नुभएको थियो। कार्यक्रमको अवसरमा उहाँले सहकारीले सञ्चालनमा ल्याएको दुग्ध संकलन केन्द्रको पनि उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपालले गाउँपालिकाका करिब ७० प्रतिशत नागरिक कृषिमा आश्रित रहेको बताउँदै परम्परागत कृषिलाई व्यावसायिक र आधुनिक बनाउनुपर्नेमा जोड दिनुभयो। आफू पनि किसान भएको उल्लेख गर्दै उहाँले कृषि तथा पशुपालनमा लगानी गर्न हिचकिचाउन नहुने बताउनुभयो।
गाउँपालिकाले दूध उत्पादनलाई प्रोत्साहन गर्न प्रतिलिटर चार रुपैयाँ अनुदान दिँदै आएको र ५० प्रतिशत अनुदानमा गाई वितरण गरेको जानकारी दिँदै अध्यक्ष नेपालले महिलालाई उत्पादनसँग जोड्न सीपमूलक तालिमको व्यवस्था गरिएको बताउनुभयो। नागरिकको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नु गाउँपालिकाको प्रमुख जिम्मेवारी रहेको उहाँको भनाइ थियो।
कार्यक्रमका विशेष अतिथि सहकारी अभियन्ता तथा कृषि सहकारी संघ बागमती प्रदेशका सचिव मित्रलाल चौलागाईंले सहकारीलाई ऋण र बचतमा मात्र सीमित राख्न नहुने बताउनुभयो। केही व्यक्तिका गलत गतिविधिका कारण समग्र सहकारी क्षेत्र बदनाम भएको उल्लेख गर्दै उहाँले राम्रा काम गर्ने सहकारीलाई पनि एउटै दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो। उहाँले बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक कृषि अपनाउन र सहकारी संरक्षणमा किसानहरू सक्रिय हुन आग्रह गर्नुभयो।
इन्द्रावती गाउँपालिका–३ का वडाध्यक्ष भीमसेन थापाले दूध सङ्कलन केन्द्र स्थापना गर्ने आफ्नो निर्वाचनकालीन लक्ष्य पूरा भएको बताउनुभयो। दुग्ध व्यवसायबाट छिटो आम्दानी गर्न सकिने उल्लेख गर्दै उहाँले किसानलाई व्यवस्थित गोठ निर्माण गर्न र वडामा रहेका कृषि तथा पशुपालनका सम्भावनाको उपयोग गर्न आग्रह गर्नुभयो।
कृषि सहकारी संघका शिवप्रसाद नेपालले सदस्यको हितमा काम गर्नु सहकारीको प्रमुख उद्देश्य रहेको बताउँदै सदस्य बीमालाई त्यस दिशाको पहिलो खुड्किलोका रूपमा व्याख्या गर्नुभयो।
कार्यक्रममा सहकारीका अध्यक्ष रामशरण गिरीले संस्थाको इतिहास, महत्त्व, औचित्य तथा हालसम्मका गतिविधिसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष भूपेन्द्र बानियाँले आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भारत मल्ल ठकुरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहकारीको वार्षिक समीक्षा तथा भावी योजनाबारे छलफल भएको थियो।
हाल ७६६ जना सेयर सदस्य आबद्ध रहेको सहकारीले कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउँदै किसानको आयआर्जन वृद्धि गर्ने, सदस्यको आर्थिक अवस्था सुधार गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। कार्यक्रमको अवसरमा राष्ट्रियस्तरका कलाकारहरू सूर्यमणि आचार्य, भीमसेन खतिवडा, मीरा गिरी र सरस्वती अधिकारीले विविध सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको गीत तथा सांगीतिक प्रस्तुतिले कार्यक्रममा उपस्थित सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।
कार्यक्रमको अवसरमा राष्ट्रियस्तरका कलाकारहरू सूर्यमणि आचार्य, भीमसेन खतिवडा, मीरा गिरी र सरस्वती अधिकारीले विविध सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको गीत तथा सांगीतिक प्रस्तुतिले कार्यक्रममा उपस्थित सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।
