शिक्षक कर्मचारीहरुको सहभागितामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिन्धुपाल्चोकको १२औँ वार्षिक साधारण सभा शनिबार मेलम्चीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०८२/८३ मा गरेका गतिविधि, आर्थिक प्रगति तथा आगामी कार्ययोजनामाथि सभामा छलफल गरिएको थियो ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो। संस्थाका विभिन्न प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा शेयर पुँजीमा १६.०७ प्रतिशत र बचत सङ्कलनमा १५.५७ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा ऋण लगानीमा भने २.२२ प्रतिशत कमी आएको र ऋणको भाखा नाघेको हिस्सा ४.३९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले शिक्षक तथा विद्यालय कर्मचारीको आर्थिक हितलाई केन्द्रमा राख्दै बचत तथा ऋण सेवाका साथै विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । SEE तथा SLC मा उत्कृष्ट विद्यार्थीलाई सम्मान, सदस्य तथा परिवारमा मृत्यु हुँदा सहयोग, विपद् तथा सामाजिक कार्यमा सहयोगलगायतका कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले पछिल्लो समय प्रविधिमैत्री सेवा विस्तारलाई समेत प्राथमिकता दिएको छ। मोबाइल बैंकिङमार्फत पानी, बिजुली, सञ्चारलगायतका बिल भुक्तानी, रिचार्ज तथा बैंक ट्रान्सफर सेवा सञ्चालनमा रहेको तथा आगामी दिनमा SHISCOL SMART लगायतका प्रविधिको प्रयोग र कृत्रिम बौद्धिकता (AI) को अभ्यासलाई अघि बढाउने योजना प्रस्तुत गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि सञ्चालक तथा कर्मचारी क्षमता विकास, सदस्य शिक्षा कार्यक्रम, सदस्य सुरक्षा कार्यक्रम, विस्तारित मञ्च, विद्यालयकेन्द्रित कार्यक्रम तथा सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।
संस्थाले आर्थिक वर्ष २०८२/८३ मा ६२९ सदस्य कायम रहेको प्रतिवेदनमा उल्लेख छ।
साधारण सभाले संस्थाको आगामी कार्यदिशा, आर्थिक अनुशासन, सदस्यकेन्द्रित सेवा, प्रविधिको प्रयोग तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षता र बागमती प्रोस्कुनका सदस्य कृष्ण प्रसाद सुवेदीके प्रमुख आतिथ्यमा भएके कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्य, कर्मचारी र शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
संस्थाले आगामी दिनमा सदस्यको आवश्यकता र क्षमताका आधारमा सेवा विस्तार गर्दै पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र दिगो सहकारी संस्था निर्माण गर्ने लक्ष्य अघि सारेको छ ।
