ललितपुर । आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं शुभ ताराले ललितपुरको मंगलबजारमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ५४ प्रिन्ट रगत संकलन भएको छ।
टीयू रक्तसञ्चार केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष राजेश हिमालयले आफ्नो जीवनको ८३ औँ पटक रक्तदान गर्नुभएको छ। नियमित रक्तदानले आकस्मिक अवस्थामा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने उहाँले बताउनुभयो।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट सेक्रेटरी इन्द्रबहादुर कार्की, डायबेटिज चिप गणेश आचार्य, जोन चेयरपर्सन तथा क्लबका संस्थापक अध्यक्ष राजेश हिमालय, क्लब अध्यक्ष सुसिला श्रेष्ठ, फस्ट भाइस प्रेसिडेन्ट आदित्य जोशी, अमृत घले, आकाश श्रेष्ठ, प्रमिला श्रेष्ठ, चण्डिका श्रेष्ठ तथा महिमा क्लबका अध्यक्ष पुरुषोत्तम तिमिल्सिनालगायतको उपस्थिति थियो।
यसैबीच, क्लबले त्रिशूली बाढीपीडितका लागि राहत सामग्रीसमेत संकलन गरेको छ। लत्ताकपडा, सिरक–डसना, खाद्यान्न तथा जुत्ता–चप्पललगायत सामग्री सम्बन्धित निकायसँग समन्वय गरी पीडितलाई वितरण गरिने क्लबले जनाएको छ। क्लबले स्वास्थ्य सेवा र विपद् सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
