नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ईन्द्रावतीको आयोजनामा डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ईन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९-१०) स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ। सिन्धुपाल्चोकको नवलपुरस्थित गाउँपालिकाको सभाहलमा आयोजित उक्त प्रतियोगितामा ईन्द्रावती गाउँपालिकाका सबै १२ वटा माध्यमिक विद्यालयका विद्यार्थी टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालयले ८५ अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी, ऐसेलुखर्क माध्यमिक विद्यालय ८० अङ्कका साथ द्वितीय र राजेश्वरी माध्यमिक विद्यालय ६५ अङ्क प्राप्त गर्दै तृतीय स्थानमा रहन सफल भएका छन्। विजेता विद्यालय तथा विद्यार्थीहरूलाई कार्यक्रमका अतिथिहरूले बधाई ज्ञापन गर्दै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।


नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ईन्द्रावतीका अध्यक्ष श्री विष्णु बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष श्री झम्क नाथ नेपाल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, बागमती प्रदेश समिति सदस्य श्री शारदा प्रसाद सापकोटाको उपस्थिति रहेको थियो। साथै, सङ्गठनका जिल्ला नेतृत्व र स्थानीय अध्यक्षहरूको समेत कार्यक्रममा सहभागिता थियो।


प्रतियोगितालाई आधुनिक र प्रविधिमैत्री बनाउन विभिन्न रोचक चरणहरूमा विभाजन गरिएको थियो। जसमा सामान्य चरण (General Round), बहुवैकल्पिक चरण (Multiple Choice), श्रव्य-दृश्य चरण (Audio Visual) र द्रुत गतिको र्‍यापिड फायर (Rapid Fire) चरणहरू समावेश थिए। यी विभिन्न चरणहरूमा विद्यार्थीहरूले आफ्नो बौद्धिक क्षमता र तार्किक कुशलता प्रदर्शन गरेका थिए।


कार्यक्रमको समापन गर्दै अध्यक्ष थापाले सार्वजनिक शिक्षाको उन्नयन र विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता प्रविधिमैत्री प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आयोजक समितिले सहभागी सबै विद्यालय र सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै विजेताहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिएको छ।

Leave a Reply