मेलम्ची । मेलम्ची नगरपालिकामा सञ्चालित ‘एक जिल्ला, एक स्वास्थ्य शहर’ कार्यक्रमको प्रगति तथा प्रभावकारिताको समीक्षा गरिएको छ। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको संयोजकत्वमा भएको बैठकमा अभियानअन्तर्गत भएका गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाबारे छलफल गरिएको हो।
समीक्षाका क्रममा नगर स्वास्थ्य सञ्जाल गठन, ओपन जिम स्थापना, खाद्य स्वच्छतासम्बन्धी अभिमुखीकरण, योग तथा जुम्बा कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन, साथै प्राङ्गारिक खेती र सुरक्षित विषादी प्रयोगसम्बन्धी कृषक अभिमुखीकरणजस्ता कार्यक्रमको प्रगति प्रस्तुत गरिएको थियो।
बैठकमा स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय अझ सुदृढ गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन, सरसफाइ सुधार र समुदायमा स्वास्थ्यमैत्री वातावरण निर्माणका लागि अभियानलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
