नवलपुर । इन्द्रावती गाउँपालिकाको आयोजनामा तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुईदिने विपद् स्वयंसेवक ब्युरो गठन, परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिकाका १२ वटै वडाबाट ३/३ जना प्रतिनिधि, नेपाल प्रहरी, पत्रकार तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटीका भरत कोइराला र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका रविराज धितालले सहजीकरण गर्नुभएको कार्यक्रममा स्वयंसेवकको भूमिका, विपद् जोखिमका हिसाबले नेपालको अवस्था, पूर्वसूचना प्रणाली, प्राथमिक उपचार, आकस्मिक उपचार सेवा प्रणाली, डोरीको माध्यमबाट उद्धार अभ्यास, ‘झटपट झोला’को तयारी, जिल्ला तथा देशमा भएका प्राकृतिक विपद्का घटनाबाट सिक्नुपर्ने पाठ लगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो।
पहिलो दिन इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशीनाथ आचार्यले विपद् सूचक समूह विगतमा पनि गठन गरिएको स्मरण गराउँदै सूचना प्रवाहलाई सहज बनाउने र दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो। उहाँले विपद्का बेला स्वयंसेवकका रूपमा सेवा गर्ने अवसर महत्वपूर्ण भएको उल्लेख गर्दै कार्यक्रमलाई उपलब्धिमूलक बनाउन आग्रह गर्नुभएको थियो।
समापन समारोहका सभापति तथा गाउँपालिका अध्यक्ष झमकनाथ नेपालले कार्यक्रम जुन उद्देश्यका साथ आयोजना गरिएको बताउँदै त्यसलाई व्यवहारमा उतार्दै दृढतापूर्वक अघि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले यसअघि पनि ज्याप्स सँगको समन्वयमा यस्ताे कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै २०८१ सालको भारी वर्षाले इन्द्रावती गाउँपालिकामा ठूलो क्षति पुर्याएको स्मरण गर्नुभयो। जिल्लामै सबैभन्दा बढी विपद् व्यवस्थापन सामग्री रहेको पालिकाका रूपमा इन्द्रावती रहेको उल्लेख गर्दै गाउँपालिका र सबै वडामा विपद् व्यवस्थापन समिति सक्रिय रहेको जानकारी दिनुभयो। साथै पूर्वसूचना प्रणालीलाई प्रविधिमैत्री बनाउने योजनाअन्तर्गत नवलपुरमा जडान गरिएको वर्षा मापक यन्त्रबाट माथिल्लो भेगको वर्षाको अवस्था निगरानी भइरहेको र तल्लो भेगका लागि वडा नं. १० को बुढीचौरमा पनि यस्तै यन्त्र जडान गरिने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एैडीले विपद् बाजा बजाएर नआउने भएकाले सधैं सचेत रहनुपर्नेमा जोड दिनुभयो। उहाँले अब स्वयंसेवकहरूले विपद्का बेला सबै निकायसँग समन्वय गर्दै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै दुई दिनको तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिका रविराज धितालले जिल्लाका सबै स्थानीय तहका विपद् फोकल पर्सनसँग दैनिक समन्वयमा रहेर काम भइरहेको जानकारी दिँदै यो कार्यक्रम विपद् व्यवस्थापनमा महत्वपूर्ण सुरुवात भएको बताउनुभयो। उहाँले पुनर्ताजगी तालिम, स्वयंसेवकको सुरक्षा, बीमा लगायतका विषय कार्यविधिमै स्पष्ट रहेको उल्लेख गर्दै सिकेको ज्ञानका आधारमा सही सूचना प्रवाह गर्नु स्वयंसेवकको मुख्य जिम्मेवारी हुने बताउनुभयो।
वडा नं. १० का अध्यक्ष रामचन्द्र घिमिरेले सबै वडाबाट प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै यस्ता तालिम ठूलो अवसर भएकाले सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्ने धारणा राख्नुभयो।
सहभागीका तर्फबाट महेन्द्रबहादुर तामाङले इन्द्रावतीको भौगोलिक अवस्थालाई मध्यनजर गर्दा यस्ता तालिम अपरिहार्य रहेको बताउँदै युवा परिचालनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो। उहाँले स्वयंसेवक २४सै घण्टा तयारी अवस्थामा रहनुपर्ने, तालिमको अवधि छोटो भएकाले समय–समयमा पुनर्ताजगी तालिम सञ्चालन गर्नुपर्ने तथा स्काउटलाई पनि कार्यक्रममा समेट्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी सहभागी बिमला पोखरेलले प्रयोगात्मक तालिम प्रभावकारी भएको उल्लेख गर्दै एउटै टोलीलाई दक्ष बनाउँदै सिकेको सीपको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई विपद्का बेला आवश्यक पर्ने गमबुट, ब्याग, पञ्जा, सिठी, टर्चलाइट लगायतका न्यूनतम सुरक्षा सामग्री तथा प्रमाणपत्र वितरण गरिएको थियो। गाउँपालिकाले यस कार्यक्रममार्फत समुदायस्तरमा दक्ष विपद् स्वयंसेवक तयार भई विपद् पूर्वतयारी, उद्धार, राहत तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
