नवलपुर भिमसेन दुग्ध सहकारीको पाँचौँ साधारण सभा सम्पन्न: लिला बहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

* # समाचार समाज सिन्धुपाल्चोक


​नवलपुर
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित श्री नवलपुर भिमसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको पाँचौँ साधारण सभा तथा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। उक्त सभाले आगामी कार्यकालका लागि लिला बहादुर तामाङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकाले सुरुवातदेखि नै कृषि र पशुपालनको क्षेत्रमा योजनाबद्ध काम गरिरहेको बताउनुभयो। गाउँमा आफैँले दूध बेचेर व्यावसायिकता सुरु गरेको अनुभव सुनाउँदै अध्यक्ष नेपालले भन्नुभयो, “अब साना डेरीहरूलाई एकीकृत गरी लैजानुपर्छ। दुधजन्य परिकारको प्रशोधन र विविधीकरणका लागि पालिकाले मेसिनरी तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ।”

कार्यक्रममा विशिष्ट अतिथि वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले वडा तहबाट सहकारीलाई आवश्यक समन्वय र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नवलपुर भिमसेन सहकारीले गरेका उदाहरणीय कामहरू अन्य सहकारीले पनि अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो।

इन्द्रावती साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रामशरण गिरीले नेपालमा सहकारीको सुरुवात, यसको महत्व र वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो। यस्तै, संस्थाका कोषाध्यक्ष मुखिया तामाङले दूध बिक्रीबाट हुने आम्दानीलाई फजुल खर्च नगरी उत्पादनमुलक काममा लगाउन र बचत गर्ने बानी बसाल्न कृषकहरूलाई आग्रह गर्नुभयो।​


अधिवेशनले निम्न बमोजिमको नयाँ नेतृत्व चयन गरेको छ:
​अध्यक्ष: लिला बहादुर तामाङ
​उपाध्यक्ष: पुष्कर मल्ल ठकुरी
​सचिव: बद्रीनाथ सापकोटा
​कोषाध्यक्ष: भवानी नकर्मी

​सदस्यहरू: वद्रि बहादुर अधिकारी, पदम बहादुर तामाङ, गिता गुरुङ ठकुरी, नेत्र बहादुर खरेल र गायत्री जोशी।


​कार्यक्रममा सहकारीका सचिव शिव सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका अन्य पदाधिकारी, सेयर सदस्य र स्थानीय कृषकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply