रेडियाे मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाइएको छ। कार्यक्रम अपाङ्गता समन्वय समिति इन्द्रावतीको आयोजना र फेयरमेड र महिला आत्मनिर्भरता केन्द्र मांकको आर्थिक सहयोगमा इन्द्रावती गाउँपालिकाको सवालमा सम्पन्न भएको हो। कार्यक्रममा अपाङ्गता अधिकार, क्षमता अभिवृद्धि र अवसर विस्तारबारे विभिन्न वक्ताहरूले महत्वपूर्ण धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालले अपाङ्गता भएका व्यक्तिहरूलाई सेमिनार, गोष्ठी र तालिमहरूमा प्राथमिकता दिइने जानकारी दिनुभयो । साथै पहिचानदेखि परिचयपत्र वितरणसम्मको प्रक्रिया गाउँपालिकाले निरन्तर रूपमा अघि बढाइरहेको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूका हक–हितका लागि गाउँपालिका सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले “केही गर्छौँ” भन्ने सकारात्मक भावनासहित अघि बढ्न आग्रह गर्दै अपाङ्गता क्षेत्रमा बजेट सुनिश्चित गरिएको र आवश्यकता अनुसार आयआर्जन तथा सीपमूलक तालिमको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत मनहरी बरालले विश्वप्रसिद्ध व्यक्तिहरूका उदाहरण प्रस्तुत गर्दै अवसर प्राप्त भएमा फरक क्षमता भएका व्यक्तिहरूले पनि असाधारण काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। दिवसको अवसरमा आयोजित कार्यक्रम मात्र प्रतीकात्मक नभई नियमित रुपमा सम्मान, अधिकार र पहुँच सुनिश्चित हुनुपर्ने पनि उहाँको भनाइ थियो।
वडा नं. ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले फरक क्षमता भएका व्यक्तिहरूलाई व्यावसायिक रूपमै सशक्त बनाउन तालिम प्रदान गरिरहेको तथा हक–अधिकार सुरक्षाका लागि वडा सञ्जाल समेत गठन भइसकेको जानकारी दिनुभयो ।
बालअपाङ्गता सेवा संस्थाका टेन्डी शेर्पाले स्थानीय तहसँगको सहकार्यलाई सुदृढ गर्दै आवश्यक सहयोग, विशेषगरी सहायक सामग्रीका लागि सिधै सम्पर्क गर्न आग्रह गर्नुभयो।
रमिला फाउन्डेसनकी अध्यक्ष रमिला शर्मा पौडेलले विगतदेखि नै अपाङ्गता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै शिक्षा, गरिबी निवारण र सीपमूलक तालिम अपरिहार्य रहेको र यसका लागि स्थानीय तहले सक्रियता देखाउन आवश्यक भएको बताउनुभयो।
इन्द्रावती गाउँपालिका नेपाली कांग्रेसका सभापति जीवनकुमार थापा मगरले अपाङ्गता भएकाहरू दया वा परोपकारका होइन, उचित अवसरका हकदार भएको उल्लेख गर्दै अवसर प्राप्त भएमा उनीहरूले आफ्नो क्षमताअनुसार प्रभावकारी योगदान दिन सक्ने बताउनुभयो।
गाउँपालिका अपाङ्गता समन्वय समिति अध्यक्ष बलराम शाह ‘आकाश’ले गाउँपालिकाभित्र ६६१ जना अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरिएको जानकारी दिँदै सञ्जालले क्षमता अभिवृद्धि तालिममार्फत सबैलाई समेटेर अघि बढ्ने प्रयास गरिरहेको बताउनुभयो। कार्यक्रममा सहभागीहरूले आफ्ना समस्या, आवश्यकता तथा अपेक्षाहरू पनि खुलस्त राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य तिलक रोगकाले “म सक्दिन होइन, म सक्षम छु” भन्ने आत्मविश्वास बोकेर अघि बढ्न सबैलाई आह्वान गर्दै सकारात्मक सोच र आत्मबलले जीवनमा ठूलो परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो ।


















