मेलम्ची नगरपालिका वडा नं १ २ र ५ को संगमस्थलमा रहेको सिद्धेश्वरी महादेव मन्दिर त्रिवेणी धाममा बाला चतुर्दशीको अवसरमा मंगलबार धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
मेलम्ची नगरपालिका वडा नम्बर ५ को आयोजनामा सो स्थानमा कार्यक्रम भएको हो। दिवंगत भएका पितृहरूको सम्झनामा बाला चतुर्दशीको अवसरमा बत्ती बाल्ने तथा भोलिपल्ट बिहान सद् बिज छर्ने दिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको मेलम्ची नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु रायमाझी ले बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष राय माझीले आफू निर्वाचित भएदेखि नै त्रिवेणी धामलाई आवश्यक रहेका संरचनाहरू निर्माण गर्नुका साथै प्रचारप्रसार गरिएको पनि बताउनुभएको थियो।
सो कार्यक्रममा आफ्ना पितृहरूको सम्झनामा बत्ती बाल्ने तथा सद् बिज छर्ने भक्तालुहरूका साथै वडा नम्बर १ २ ५ लगायतका वडाका स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरू सानु केसी, रुद्र केशि, भिमसेन खतिवडा, राधिका ढकाल, सविता ढुँगाना, राजन चौलागाईं (खैराते), निशा लामा लगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो।
सिद्धेश्वरी धाम अर्थात् त्रिवेणी धामको महत्त्व विशेष रहेको कार्यक्रममा वक्ताहरूले बताएका थिए। त्रिवेणी धाम आफैमा महत्त्व बोकेको स्थल भएको उनीहरूले बताएका थिए। प्रचारप्रसारको अभावले धार्मिक महत्त्व बोकेको धाम पछि परेको वक्ताहरूको भनाई रहेको थियो।

