मेलम्ची ।
मेलम्ची नगरपालिकाले डेङ्गु तथा अन्य किटजन्य रोग नियन्त्रणका लागि विशेष अभियानको थालनी गरेको छ। नगरपालिकाको सभा हलमा आयोजित सरोकारवाला अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले समुदायस्तरमै लार्भा खोजी गरी नष्ट गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
प्रमुख तामाङले रोगको उपचारभन्दा रोकथाममा जोड दिँदै विगत वर्षको अनुभवका आधारमा सबै निकाय मिलेर समयमै रोगको स्रोत नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । उपप्रमुख प्रधानले सचेतना, सरसफाइ र समन्वय अत्यावश्यक रहेको बताउँदै रोग लाग्न नदिन समुदायसम्म पुगेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालय, महिला स्वयंसेविका, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले लार्भा बस्न सक्ने स्थान पहिचान गर्ने व्यवहारिक अभ्याससमेत गरिएको थियो।
स्वास्थ्य शाखाका प्रमुख ज्ञानेन्द्र सिग्देलले अभियानलाई निरन्तरता दिइने बताउँदै सबै वडामा सरसफाइ, लार्भा नष्ट र जनचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।