नेकपा माओवादीका उपमहासचिव एवम् पूर्व मन्त्री एवं शक्ति बहादुर बस्नेतले सरकार लोकतन्त्रको खिल्ली उडाउन तल्लीन भएको बताउँदै सरकार सांसदको भूमिकालाई खुम्च्याएर स्वेच्छाचारी ढङ्गले चल्न खोजिरहेको आरोप लगाउनुभएको छ ।
शनिबार (आज) ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले सरकारले विचौलिया र स्वार्थ समूहहरूको लागि काम गरिरहेको बताउनुभयो । बस्नेतले सरकार यही रवैयाका साथ अगाडि बढे यो सरकारले ठूलो मूल्य चुकाउन पर्ने समेत जिकिर गर्नुभयो ।
यता प्रतिनिधि सभा सदस्य एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न भ्रष्टाचार मुक्त र सुशासन युक्त सरकार हुनुपर्ने र त्यसो भएमा मात्रै समाजवाद प्राप्त हुने बताउनुभयो । समाजवादको दिशामा अगाडि बढेको प्रचण्ड नेतृत्वको सरकार १८ महिनामै ढलाइदिएकोमा आक्रोश पोख्दै उहाँले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टहरूको फाइल फटाफट खोल्न र भ्रष्टहरू पक्राउ गर्न थाल्यो त्यसपछि काङ्ग्रेस एमाले आत्तिएर प्रचण्ड नेतृत्वको सरकार ढलाएको उहाँले बताउनुभयो ।
त्यस्तै पूर्वमन्त्री एवम् बागमती प्रदेशका सदस्य युवराज दुलालले वर्तमान सरकार भ्रष्टाचारले डुङ्डुङ्ती गन्हाएको बताउनुभयो । यो सरकारको आयु धेरै लामो नभएको दुलालले बताउनुभयो । ओली क्याबिनेटप्रति आक्रोश पोख्दै दुलालले यो सरकारको जन्म नै भ्रष्टहरूको गर्भबाट भएकोले यो सरकारको ध्यान भ्रष्टहरूलाई कसरी जोगाउने भन्ने तिर मात्रै रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला, प्रदेश र पालिका मीटी तथा भातृ संस्थाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । हाल अधिवेशनको खुल्ला सत्र सकिएको छ । बन्द सत्र वडा नम्बर १२ को भिमटारमा हुने आयोजकले जानकारी दिएको छ ।