सातकन्या माविको ५२ औं बार्षिकोत्सव सम्पन्न, गुणस्तरीय शिक्षाको लागि प्याकेजमा काम गरीरहेकाे नगर प्रमुख तामाङकाे भनाई

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

ज्यामिरे ।

सातकन्या माध्यमिक विद्यालय मेलम्ची ९ रातमाटाले आफ्नो ५२ औं बार्षिकोत्सव मनाएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाई राख्दै उहाँले आफूले अध्ययन गरेको र विव्यास अध्यक्ष समेत भईसकेको विद्यालय भएका कारण पनि पहिलो प्राथमिकतामा राखेको आफू निर्वाचित भएपछि यस विद्यालयलाई सहयोग गरीरहेका बताउनुभएको छ ।

साथै गुणस्तरीय शिक्षाको लागि पालिकाको श्रोत साधन उपयोग गरि सक्दो काम गरीरहेको उहाँले जानकारी दिनुभयो । आगामि दिनमा एउटै वडामा रहेका विद्यालयहरूको फरक फरक मितिमा बार्षिकोत्सव मनाउनुको सट्टा एकै ठांउमा मनाउने र त्यसको खर्च पालिकाले व्योहोर्ने गरि योजना बनाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

अनुगमन गरि कम विद्यार्थी रहेका विद्यालयहरूको समायोजन गरीने र विद्यार्थी धेरै ठाउँमा शिक्षक दरबन्दी पुर्याउने साथै बिद्यार्थी पुग्ने ठाउँमा क्याम्पस सञ्चालन गर्ने बिषयमा पनि काम अधि बटेको उहाँको भनाई छ ।

गुणस्तरीय शिक्षाको लागि प्याकेजमा काम गरीरहेको बताउँदै प्रमुख तामाङले बर्षे बिदामा कक्षा सञ्चालन गर्ने शिक्षकहरूलाई थप पारिश्रमिक दिएको तर अधिकांश विद्यालयले कक्षा सञ्चालन नगरेको भन्दै असन्तुष्टी जनाउनुभयो । गुणस्तरीय शिक्षा सबैको चासो र सरोकारको विषय बन्नुपर्ने नगरले शिक्षाको क्षेत्रमा ठुलो लगानि गरीरहेको र विद्यालयलाई आवश्यक सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । शिक्षकहरूले आफ्नो कर्तव्य पूरा गरे नगरेको नगर शिक्षा समितिले छानविन गर्ने साथै पुरस्कार र दण्डको व्यावस्थालाई बलियो बनाउने उहाँले बताउनुभयो । कार्यक्रमको अवसरमा उहाँले विद्यालयका उत्कृष्ट विद्यार्थी शिक्षक र अभिभावकलाई सम्मान साथै आन्तरीक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएकाहरूलाई पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि वडा अध्यक्ष किरणदिप खड्काले सामुदायिक विद्यालयमा अभिभावकले चासो नगरेसम्म शैक्षिक गुणस्तर सुधार नहुने बताउँदै अभिभावकहरूको चासो कम हुँदै गएको बताउनुभयो । वडाका सबै विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागी आफ्नो तहबाट सक्दो प्रयास गरीरहेको भएपनि दिनानुदिन विद्यार्थी संख्या कम हुँदै जानु दुखद् कुरा भएको उहाँको भनाई थियो । वडाले सबै विद्यालयहरूमा शिक्षा क्षेत्रमा सर्वपक्षीय उन्नयनका लागि वडाले काम गरीरहेको दोहोर्याउनुभयो ।

विद्यालय ब्यवस्थापन समिती अध्यक्ष सुन बहादुर घलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक जनक अधिकारीले प्रस्तुत गर्नुभएको थियो । छिमेकी विद्यालयका प्रधानाध्यापक केदार विष्टले शुभकामना मन्तब्य राख्नुभएको थियो भने पुर्व विद्यार्थीहरूद्वारा शैक्षिक सामाग्री सहयोग गरिएको थियो ।

Leave a Reply