रेडियो मिसन ।
मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ । दिपावली, छठ र नेपाल संवत् लगायतका चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा हुने विकृति नियन्त्रण गर्दै जनतालाई सुलभ र सहज रुपमा उपलब्ध होस् भनी अनुगमन थालेको हो । दशैं अघिनै नगरपालिकाका विभिन्न वडामा अनुगमन गरेको पालिकाले अहिले बाँकी रहेका वडाहरुमा समेत अनुगमन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिकाले यसअघि नगरपालिका क्षेत्रभित्रका मेलम्ची, बाहुनेपाटी, सिन्धुखोला, तालामाराङ, भोटेचौर, भदौरे, पिप्ले लगायतको बजार अनुगमन गरेको थियो भने हिजो सोमबार सेल्ले पोखरे, दुबाचौर, ज्यामिरे, शिखरपुर, क्यौरानी लगायतका बजारहरूको अनुगमन गरेको दुलालले जानकारी दिनुभयो ।
अनुगमनमा राजस्व शाखा प्रमुख दुलाल,स्वास्थ्य शाखा प्रमुख अस्मिता सापकोटा,विभिन्न शाखाका कर्मचारी, सम्बन्धीत वडाका जनप्रतिनिधिहरु, नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धिताल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष शालिकराम अधिकारी, उपाध्यक्ष ज्ञानप्रासद सापकोटा पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।
अनुगमनका क्रममा मिति गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गर्ने कार्य गरिएको नगरपालिकाले जनाएको छ ।