जनसुधार आधारभूत विद्यालयको स्वर्ण जयन्ती महोत्सव तथा अभिभावक भेला सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 

इन्द्रावती गाउँपालिका ५ मा रहेको जनसुधार आधारभूत विद्यालयको स्वर्ण जयन्ती महोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका संसद् कृष्ण कुमार तामाङ समीरले आधारभूत तह सम्मका विद्यालयहरू स्थानीय सरकार मातहत रहने बताउँदै स्थानीय तहसँग सहकार्य गरी शैक्षिक गुणस्तर सुधारका लागी अघि बढ्ने बताउनुभएको छ । विद्यालयको भव्य भौतिक संरचना देख्दा खुसी लागेको बताउँदै सांसद तामाङले विद्यालयमा रहेको खानेपानीको समस्या समाधानका लागी सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

स्थानीय तहले पनि समस्या समाधानको लागी प्रयास गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “यहाँको खानेपानी समस्या समाधानको लागी स्थानीय तह पनि तयार रहनुस्, यदि धेरै लागत लाग्ने भयो भने त्यसको लागी चिन्ता लिनु पर्दैन म छु,” । स्वच्छ खानेपानीबाट बिद्यार्थीहरु वञ्चित हुन नहुने बताउँदै मुहानको व्यवस्था भएमा आवश्यक रकमको व्यवस्था प्रदेश सरकारले गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । “मुहान मिलाउने जिम्मा तपाईँहरू लिनुस्, मुहान भएपछि बजेटको अभावमा खाने पानीबाट बिद्यार्थीहरुलाई वञ्चित हुन नदिने जिम्मा मेरो भयो,” उहाँले भन्नुभयो । 

विकासका लागी बजेट ल्याउने बागमती प्रदेश भित्रका जिल्लाहरूमध्ये सिन्धुपाल्चोक एक नम्बरमा रहेको बताउँदै सांसद तामाङले विकासका लागी युवाहरू अग्रसर हुन जरुरी रहेको बताउनुभयो । अग्रजको सम्मान गर्दै युवाहरू अघि बढ्नुपर्नेमा जोड दिँदै बिका सले अहिले युवाको अनुहार कुरी रहेको धारणा राख्नुभयो । साथै आफूले पनि आफ्नो व्यक्तिगत चाहाना मारेर विकासको लागी लागी परेकोले सबैले यो ठाउँमा पुग्न सहयोग गरेको बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सोभना तामाङले गाउँपालिकाको शैक्षिक सुधारका लागी प्रयासरत रहेको बताउनुभयो । यसका लागी अझै धेरै काम गर्न बाँकी रहेकोले विद्यालयको लागी सहयोग गर्न कन्जुस्याइँ नगर्ने बताउनुभयो । साथै प्रदेशले पनि सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा समस्या समाधानका लागी सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।

यस विद्यालय अनेकौँ अप्ठ्यारो परिस्थितिहरूबाट गुज्रिँदै अहिले सुविधा सम्पन्न भवन सम्म आइपुग्नु खुसीको कुरा रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले बताउनुभयो ।

शिक्षा क्षेत्रमा रहेका हरेक समस्या समाधानमा लागी सबैले आ आफ्नो ठाउँबाट लागि पर्नुपर्ने उहाँको भनाई छ । शैक्षिक गुणस्तर अभिबुद्धिको लागि विद्यालय र विद्यार्थी दुवैको अनुगमन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । साथै शिक्षकहरूले पनि विद्यार्थीहरूको मनोविज्ञान बुझेर पढाउन पर्ने बताउनुभयो । त्यस्तै विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घ लगायतले विद्यालयको समस्याको बारेमा वडा पालिका र प्रदेश तथा सङ्घ सम्मै घच्घच्याउन सक्नुपर्ने उहाँको भनाई छ । राज्यले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको तर लगानी अनुसार प्रतिफल हँसिला हुन नसकेको कुरालाई स्वीकार गर्दै त्यसको कारण पत्ता लगाई समाधान तर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । साथै वडा लगायत समग्र गाउँपालिका शैक्षिक सुधारका लागी प्रयासरत रहेको उहाँले बताउनुभयो । 

विद्यालयको खानेपानी समस्या समाधानको लागी मुहान खोजिरहेको बताउँदै मुहान व्यवस्थापनका लागी छलफल भइरहेको र सबैको सहयोगमा यो समस्या समाधान गर्न सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयको लागी वडाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो । फरक प्रसङ्गमा बोल्दै आचार्यले प्रदेशले इन्द्रावती ५ लाई स्वास्थ्य गरेको गुनासो गर्नुभयो । स्थानीय सरकारले मात्रै सबै कुरा गर्न नसकिने बताउँदै विकासको लागी माथिल्लो निकायको नजर पर्न जरुरी रहेको उहाँको भनाई छ । 

लोकतान्त्रिक खेलकुद परिषद्का केन्द्रीय सदस्य अण लामाले आफू पनि यही विद्यालयको पूर्व विद्यार्थी रहेको बताउँदै यस विद्यालय जिल्लाकै एक सफल विद्यालय रहेको बताउनुभयो । यस विद्यालयका विद्यार्थीहरू राजनीति, धर्म, शिक्षा, व्यवसाय लगायत हरेक क्षेत्रमा सफल रहेको बताउँदै अब उत्पादन हुने विद्यार्थीहरू पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो । साथै विद्यालयमा स्वच्छ पिउने पानीको अभाव रहेको बताउँदै प्रदेश सांसदको ध्यानाकर्षण गर्नुभयो । 

स्वागत मन्तव्य राख्दै विद्यार्थी दीक्षा आचार्यले विद्यालयमा खानेपानीको चरम अभाव रहेको र त्यो समस्या समाधानका लागि उपस्थिति प्रमुख अतिथि तथा सबैको ध्यानाकर्षण गराउनुभएको थियो । साथै विद्यार्थी सजिना लोप्चनले अङ्ग्रेजी भाषामा र शिक्षकको तर्फबाट कुमार आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यनाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक शंकरनाथ आचार्यले विद्यालयको वार्षिक प्रतिवेदन तथा शिक्षक कुमार आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै विद्यालयमा योगदान पुराउनुहुने विशिष्ट ब्यक्तित्वहरुलाई सम्मानका साथै विद्यालयका अतिरिक्त क्रियाकलापमा सफल बिद्याथीहरु लाई पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा कलाकारहरू सूर्यमणि आचार्य, भिमलेन खतिवडा, कल्पना दाहाल, कल्पना परियार लगायत बिद्यार्थीहरुले संगितिक प्रस्तुतिहरू प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

साथै विद्यालयमा रहेको सरस्वती मन्दिरमा सरस्वतीको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । वडा अध्यक्ष शशिनाथ आचार्यले आफ्ना स्वर्गीय आमा खिल कुमारी आचार्यको सम्झनामा निर्माण गर्नुभएको मन्दिरमा मुक्तिनाथ आचार्यले स्थापना गर्नुभएको सरस्वती मूर्तिको आज विद्यालयको स्वर्ण जयन्ती तथा सरस्वती पूजाको पूर्व सन्धामा प्राण प्रतिष्ठा गरिएको हो । 

Leave a Reply