रेडियो मिसन ।
मेलम्ची ९ रात माटामा रहेको श्री सातकन्या माविले ५१ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमको अवसरमा बोल्दै मेलम्ची नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि आइतमान तामाङले विद्यालयको भौतिक संरचना लगायतका काम पालिकाले गरिरहेको जानकारी दिनुभयो । गत वर्ष पनि विद्यालयको लागि अघिल्लो वर्ष केही संरचना बनाउन सहयोग गरेको बताउनुभयो । विद्यालयको भवन निर्माणका लागि कार्यपालिकाले निर्णय गरी नमुना विद्यालय बनाउन राष्ट्रिय योजना आयोगमा प्रस्ताव गरेको जानकारी दिनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि धेरै कामहरू बाँकी रहेकाले विद्यालय, विव्यास, अभिभावक र विद्यार्थी सबैको भूमिका बराबर रहने उहाँले बताउनुभयो । २१ वटा माविमध्ये सातकन्याको परिणाम राम्रो रहेको तर पर्याप्त नरहेको नगर प्रमुख तामाङले बताउनुभयो ।

नगरपालि विद्यार्थीको लागि नृत्य तथा विभिन्न खेल प्रशिक्षक नियुक्तिको तयारी गरिरहेको जानकारी दिनुभयो । पालिकाले कक्षा १० सम्म दिवा खाजा दिइरहेको र १२ कक्षा सम्म नै दिने तयारी गरिरहेको जानकारी दिनुभयो । बालमैत्री वडा बनाउनको लागि आवश्यक बजेट व्यवस्थापन गरी काम भइरहेको जानकारी दिनुभयो । साथै प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रविधिमैत्री विद्यालय बनाउन सिसी क्यामेरा तथा ई हाजिरीको काम भइरहेको पनि उहाँले बताउनुभयो । अघिल्लो वर्ष सञ्चालन गरेको लोकसेवा तयारी कक्षालाई यस वर्ष पनि निरन्तरता दिने नगर प्रमुख तामाङले बताउनुभयो । विद्यालयलाई आवश्यक पर्ने शिक्षक दरबन्दीका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रमको अवसरमा बोल्दै मेलम्ची नगर उपप्रमुख तथा कार्यक्रमका विशेष अतिथि उमा प्रधानले शिक्षाको गुणस्तरका लागि सातकन्याका अभिभावकहरू पनि जागरूक रहेको बताउनुभयो । विद्यालयका भौतिक पूर्वाधार तथा अन्य क्षेत्रको काम बाँकी रहेकोले अबका दिनमा ती समस्याहरूको नगरपालिकाले साझेदारी गर्ने बताउनुभएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा केही कार्यक्रमहरू छुट्याइएको तर कार्यक्रम सम्पन्न गर्न ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । शिक्षाको क्षेत्रमा जिल्लामै अब्बल पालिका बनाउने गरी लागिरहेको उपप्रमुख प्रधानले बताउनुभएको थियो ।

आफ्नो भनाई राख्दै वडा नम्बर १० का अध्यक्ष अमृत खनालले विद्यालयको सिङ्गो टिम नै ऊर्जाशील र जोसिलो रहेकाले असफल हुने छुट नरहेको बताउनुभयो । विद्यालयको लागि भौतिक तथा शैक्षिक उपलब्धिका लागि यो उत्तम समय रहेकाले भरपुर उपयोग गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष किरण दिप खड्काले समस्याहरू सम्बन्धित निकायले समाधान गर्नमा पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । शैक्षिक गुणस्तरका लागि केही पनि कुरामा सम्झौता नगरिने वडा अध्यक्ष खड्काले बताउनुभयो । साथै विद्यालयहरूमा मनो परामर्श कक्षा सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा विद्यार्थीको तर्फबाट सविन कार्की, शिक्षकको तर्फबाट यशोदा कोइराला, पूर्व विद्यार्थीको तर्फबाट गोपाल कार्की, छिमेकी विद्यालयको तर्फबाट श्री इन्द्रेश्वरी माविका प्रधानाध्यापक देवि श्रेष्ठ, इन्द्रावती बहुमुखी क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ, इन्द्रेश्वरी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष चोकप्रसाद दुलाल (सिपि), याङ्री लार्के सरोकार समिति केन्द्रीय सचिव चन्द्र बहादुर तामाङ, मेलम्ची नगरपालिका शिक्षा शाखाको तर्फबाट सुनिल कुमार भण्डारी, वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल, वडा नम्बर ९ का अध्यक्ष किरण दिप खड्का, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विकास तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयको वार्षिकोत्सवमा मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्का, वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल, निर्वाचित वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सङ्घसंस्थाका प्रतिनिधिहरू, पूर्व विद्यार्थीहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक तथा विद्यार्थीहरूले उपस्थिति रहेको थियो ।




विद्यालयले पूर्व शिक्षकहरू तथा विद्यालयका उत्कृष्ट विद्यार्थी तथा अभिभावहरूलाई सम्मान गरिएको थियो । विद्यालयको प्रगति प्रगति प्रतिवेदन प्रधानाध्यापक जनक अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम कृष्ण तामाङ र देवेन्द्र थापाले सञ्चालन गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा प्रतिमा अर्याल, प्रदीप रोक्का, ओम तामाङ, रमेशराज बराइली र छेवाङ डि स्याङ्बोले मनोरञ्जन गराउनुभएको थियो ।






