पूर्वानुमान गर्दागर्दै घरभित्र पस्यो बाढी: स्थानीय तहको बेवास्ताले नागरिक जोखिममा

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

वडा कार्यालयमा पटक-पटक दिएको जानकारीलाई स्थानीय तहले समयमै वास्ता नगर्दा ढल र सडकको अव्यवस्थित संरचनाका कारण एउटा सिङ्गो परिवार बाढीको चपेटामा परेको छ। 

 मेलम्ची नगरपालिका वडा नम्बर ५ मा वर्षासँगै आएको भेल स्थानीय भरतमणि सिग्देलको घरभित्र पस्दा भौतिक क्षति हुनुका साथै आसपासको क्षेत्र नै जलमग्न भएको छ। सम्भावित जोखिमका विषयमा पहिल्यै जानकारी गराउँदा समेत सम्बन्धित निकायले ध्यान नदिँदा यो समस्या आएको घरधनी भरतमणि सिग्देलले बताउनुभएको छ । पूर्वसूचना पाउँदापाउँदै पनि नागरिकले क्षति ब्योहोर्नुपर्ने बिडम्बनापूर्ण अवस्था सिर्जना भएको छ।

​स्थानीयका अनुसार सडक विस्तार तथा मर्मतका क्रममा नालीको उचित व्यवस्थापन नगरिनु र प्राकृतिक निकासलाई मिचेर पूर्वाधार निर्माण गरिनु नै यो विपद्को मुख्य कारण हो। सार्वजनिक मञ्च र वडाका ढोकामा पुगेर पटक-पटक जोखिमबारे ध्यानाकर्षण गराउँदा पनि जनप्रतिनिधि र प्राविधिक टोलीले बेवास्ता गर्दा आज सोही औंल्याइएको जोखिम वास्तविक समस्या बनेर घरभित्रै आइपुगेको हो। निर्माण व्यवसायीको गैरजिम्मेवारपन र नियमनकारी निकायको उदासिनताका कारण स्थानीयबासी अहिले आफ्नै घरभित्र असुरक्षित बन्न पुगेका छन्।

​घटनापश्चात् पीडित परिवारले तत्काल घटनास्थलको स्थलगत निरीक्षण गरी पानीको निकास खोल्न, क्षतिको प्राविधिक मूल्याङ्कन गरी राहत प्रदान गर्न र दोषी ठेकेदारमाथि छानबिन गरी दीर्घकालीन समाधान खोज्न माग गरेका छन्। समस्या आउनुअघि नै दिएको चेतावनीलाई बेवास्ता गर्ने र घटना घटेपछि मात्रै ब्युँझिने स्थानीय प्रशासनको परिपाटीप्रति सर्वसाधारणले तीव्र आक्रोश व्यक्त गरेका छन्। नागरिकको धनजनको सुरक्षा गर्ने प्राथमिक दायित्व बोकेको स्थानीय सरकारले अब पनि यो समस्यालाई पन्छाउन नहुने र तत्काल प्राविधिक समाधान खोजेर भविष्यमा यस्ता घटना दोहोरिन नदिनेतर्फ ठोस कदम चाल्नुपर्ने देखिन्छ।

Leave a Reply