मेलम्ची । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन भएका कार्यहरूको विस्तृत समीक्षा र आगामी आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिने कार्यक्रमहरूको योजनासहितको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिका क्षेत्रभित्र कार्यक्षेत्र रहेका सरकारी एवं गैर-सरकारी सङ्घसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
मेलम्ची नगरपालिकाको कार्यक्षेत्रभित्र रहेर काम गरेका सङ्घसंस्थाहरूले वर्षभरिको गतिविधि तथा आगामी वर्षको योजनाबारे जानकारी गराएका थिए। महिला आत्मनिर्भरता केन्द्र (MANK), टुकी सङ्घ सुनकोशी लगायतका संस्थाहरूले आ-आफ्नो प्रगति र भावी योजना प्रस्तुत गरेका थिए।
नगरपालिकाको समग्र वार्षिक प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले पेश गर्नुभएको थियो। प्रतिवेदनमा आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका भौतिक, सामाजिक र आर्थिक विकासका कार्यहरूको विवरण तथा वित्तीय प्रगती समेटिएको थियो।
कार्यक्रमको समापन गर्दै नगर प्रमुख आइतमान तामाङले पालिका र सङ्घसंस्थाहरूको समन्वयमा सञ्चालित कार्यक्रमहरू प्रभावकारी रहेको बताउनुभयो।
“सङ्घीय सरकार र प्रदेश सरकारबाट कम योजनाहरू प्राप्त भए पनि स्थानीय सरकार आफ्नो बलबुताले भ्याएसम्मका कामहरू निरन्तर गरिरहेको छ। आवश्यकताका आधारमा बजेट व्यवस्थापन गरेर काम गरिएको छ,” उहाँले भन्नुभयो। “नकारात्मक कुरा त्यागेर सकारात्मक सोचका साथ काम गरेमा अवश्य सफल भइन्छ।” तामाङले भन्नुभयाे ।
उपप्रमुख उमा प्रधानले नीतिगत सूचकाङ्कमा पालिकाले गरेका कामहरू उत्कृष्ट हुँदै गएको बताउनुभयो।”अनुगमनलाई यस वर्षदेखि थप चुस्त र दुरुस्त बनाउँदै लगिनेछ,” उपप्रमुख प्रधानले भन्नुभयो। उहाँले जनप्रतिनिधि र कर्मचारी एक-अर्काका पूरक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
वडा अध्यक्षहरूको तर्फबाट प्रतिनिधित्व गर्दै वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले समीक्षा कार्यक्रमले विगतको तुलनामा सुधारात्मक प्रगति देखिएको बताउनुभयो। उहाँले यस्ता समीक्षाले आगामी दिनको योजना बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो।
मेलम्ची नगरपालिकाको यो समीक्षा कार्यक्रमले विगतका कामको मूल्याङ्कन गर्नुका साथै आगामी वर्षका लागि सहकार्य, चुस्त अनुगमन र सकारात्मक दृष्टिकोणका साथ अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ।
समीक्षा कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरू तथा नगर क्षेत्रमा क्रियाशील सरकारी तथा गैर-सरकारी कार्यालयका प्रमुख वा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

