जिल्ला स्तरीय प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल प्रवेशका लागि आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका तथा सुनकोशी गाउँपालिका र इन्द्रावती गाउँपालिका बीच प्रतिस्पर्धा हुनेछ ।
सुनकोशी गाउँपालिका आज भएको समूहचरणको अन्तिम खेलमा हेलम्बु गाउँपालिका सँग १–१ गोलको बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको हो । त्यस्तै इन्द्रावती गाउँपालिका बाह्रविसे नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका पनि भाेटेकाेशी गाउँपालिकालाई १–० ले पछि पार्दै सेमीफाइनल यात्रा तय गरेको हो । उता चौतारासँग साँगाचोकगढी नगरपालिका भने हिजै मेलम्चीलाई पराजित गर्दै फाइनल सेमिफाइनल प्रवेश गरिसकेको टोली हो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा वडा नम्बर ४ मा रहेको पेमाथाङ्ग समानता खेलकुद मैदानमा जारी प्रतियोगितामा जिल्लाभरिका १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेता हुने टोलीले ५० हजार नगदसहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।