मेलम्ची । सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण र जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै मेलम्ची नगरपालिकाले विपद् व्यवस्थापनको तयारीलाई तीव्रता दिने भएको छ।
नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा बिहीबार सम्पन्न नगरस्तरीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समितिको बैठकले जोखिमयुक्त बस्तीको संरक्षण, विपद् प्रभावितको व्यवस्थापन र आगामी मनसुनको पूर्वतयारीलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्दै विभिन्न प्रस्ताव पारित गरेको हो।
नगरपालिकाको विपद् शाखा प्रमुख सबुना गमालका अनुसार बैठकमा अस्थायी आवासका लाभग्राहीको व्यवस्थापन, रसुवा बाढीमा बेपत्ता नागरिकको विषय, अन्तरपालिका लाभग्राहीको स्थानान्तरण तथा खर्च अनुमोदनलगायत विषयमा निर्णय गरिएको छ।
बैठकमा नगरप्रमुख तामाङले विपद् व्यवस्थापनका लागि स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले जोखिममा रहेका बस्ती तथा नागरिकको सुरक्षामा विशेष ध्यान दिँदै प्रभावितलाई राहत, आवास र आवश्यक सहयोग उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
जलवायु परिवर्तनका कारण बढ्दै गएका जोखिम सामना गर्न पूर्वतयारीसँगै दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँको भनाइ थियो।
बैठकमा उपप्रमुख उमा प्रधान, वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मी सहभागी थिए।
