सिन्धुपाल्चोकमा निर्वाचन तयारी तीव्र, जिल्ला निर्वाचन व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

चौतारा । निर्वाचन आयोग नेपाल अन्तर्गत जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकद्वारा जिल्ला निर्वाचन व्यवस्थापन समितिको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ।
बैठकमा निर्वाचन कार्यालयले हालसम्म गरेका प्रमुख कार्यहरूको समीक्षा गरिएको छ। यस क्रममा लिसंखुपाखर–१ तथा श्री निगाले मावि निगाले थप भई कुल १४६ मतदान स्थल र १८ केन्द्र थप भई ३३८ मतदान केन्द्र कायम गरिएको जानकारी दिइएको छ।

मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्य सम्पन्न भई महिला १,३१,६९६ र पुरुष १,४३,३०२ गरी कुल २,७४,९९८ अन्तिम मतदाता कायम गरिएको छ। साथै अस्थायी मतदाताको संख्या अनुमानित ४५०० रहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन सामग्री खरिदका लागि २०८२ पौष २४ गते सरकार–सरकार (G to G) खरिद प्रक्रिया सम्झौता सम्पन्न गरिएको तथा अस्थायी मतदाता नामावली संकलनका लागि पौष १६ देखि २०८२ माघ १८ गते सम्म पत्राचार गरिएको जानकारी दिइयो।

यसैगरी जिल्लाका मतदानस्थल खुल्ने नक्साको प्रिन्ट सम्पन्न भइसकेको र अनुसूची छपाइको काम अन्तिम चरणमा पुगेको छ।

कार्यतालिका अनुसार जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यहरू अघि बढाइएको छ भने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्थापना गरिएको छ। विगतमा प्राप्त मतदानस्थलसम्बन्धी समस्या समाधानका लागि जुगल–१ तथा श्री नन्द कुमारी प्रावि क्षेत्रमा आवश्यक पहल गरिएको जनाइएको छ।

बैठकले जिल्लामा निष्पक्ष, स्वच्छ र व्यवस्थित निर्वाचन सम्पन्न गर्न सबै पक्षको समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ।

Leave a Reply